काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा राजदूतहरूसँगको भेटमा मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित शिष्टाचार भेटका क्रममा उनले नेपालले सबै देशहरूसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै विश्वासका आधारमा पारस्परिक लाभमा आधारित साझेदारीलाई प्राथमिकतामा राखेको उल्लेख गरे।
‘नेपालले सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको छ। हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ,’ प्रधानमन्त्री शाहले भने। उनले नेपालको विकास र समृद्धिमा सहयोग पुर्याउने सबै मित्र राष्ट्रप्रति आभार पनि व्यक्त गरे।
विश्वमा जारी द्वन्द्वहरूले सर्वसाधारण नागरिकलाई गम्भीर असर पारिरहेको उल्लेख गर्दै उनले शान्तिलाई साझा प्राथमिकता बनाउनुपर्नेमा जोड दिए। ‘चलिरहेका द्वन्द्वहरूले सर्वसाधारणलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति हाम्रो साझा प्राथमिकता हुनुपर्छ,’ उनले बताए।
प्रधानमन्त्री शाहले नेपालमा लगानीका लागि अनुकूल वातावरण निर्माण, उद्यमशीलता प्रवर्द्धन तथा दिगो विकासलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे। साथै, राष्ट्रिय हितअनुकूल हुने गरी नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा अझ मजबुत रूपमा समेट्ने लक्ष्य रहेको उनले उल्लेख गरे।
उनले नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता कायम रहने र राजनीतिक स्थायित्वलाई प्राथमिकतामा राखिने बताए। विकास, व्यापार, लगानी, जलवायु अनुकूलन तथा जनस्तरको सम्बन्ध विस्तारमा सहकार्य बढाउने सरकारको योजना रहेको पनि उनले जानकारी दिए।
यसैगरी, विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको विषयमा प्रधानमन्त्री शाहले विशेष जोड दिएका छन्।