काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा विरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अस्वाभाविक आर्थिक कारोबार सम्बन्धी अनुसन्धान अघि बढाएपछि अदालतले उक्त आदेश जारी गरेको हो। स्रोतका अनुसार देउवा दम्पती र उनीहरूको परिवारसँग सम्बन्धित विभिन्न आर्थिक गतिविधि शंकास्पद देखिएपछि अनुसन्धान प्रक्रिया तीव्र बनाइएको हो।
पक्राउ पूर्जी जारी हुँदा देउवा दम्पती भने देश बाहिर रहेका छन्। उनीहरू गत १४ फागुनमा उपचारका लागि सिंगापुर गएका थिए भने पछि हङकङ पुगेको बताइएको छ। हालसम्म उनीहरू नेपाल फर्केका छैनन्।
देउवा दम्पती विदेशमै रहेकाले अब नेपाल प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने तयारी गरेको छ। प्रहरी स्रोतका अनुसार अदालती कागजात प्राप्त भइसकेपछि अन्तर्राष्ट्रिय प्रहरी संगठनमार्फत खोजी तथा पक्राउ प्रक्रिया अघि बढाउन कानुनी आधार तयार भएको छ।
प्रहरी प्रधान कार्यालयस्थित नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) मार्फत इन्टरपोलसँग समन्वय गरिनेछ। नोटिस जारी भएमा इन्टरपोलका सदस्य राष्ट्रहरूले सम्बन्धित व्यक्तिलाई पक्राउ गरी कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाउन सहयोग गर्न सक्नेछन्।
यसैबीच, देउवा परिवारसँग सम्बन्धित सम्पत्तिहरूको विवरण संकलन तथा अनुसन्धान कार्य जारी रहेको छ। पछिल्लो समय विभिन्न व्यक्तिहरूका नाममा खरिद गरिएको जग्गा, बैंक कारोबार तथा अन्य वित्तीय गतिविधिहरूको सूक्ष्म अध्ययन भइरहेको स्रोतको दाबी छ।
त्यस्तै, अघिल्ला केही विवादास्पद घटनाहरू र आर्थिक निर्णयहरूसँग सम्बन्धित पक्षहरूलाई समेत अनुसन्धानको दायरामा राखिएको बताइएको छ।
प्रहरी तथा सम्बन्धित निकायहरूले अनुसन्धानलाई निष्पक्ष र कानुनी प्रक्रियाअनुसार अघि बढाउने बताएका छन्।