काठमाडौं । सरकारले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले नियुक्त गरेका ६ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरूलाई एक महिनाभित्र जिम्मेवारी हस्तान्तरण गरी स्वदेश फर्किन निर्देशन दिइएको हो।
फिर्ता बोलाइएका राजदूतहरू भारत, अस्ट्रेलिया, श्रीलंका, डेनमार्क, दक्षिण कोरिया र दक्षिण अफ्रिकामा कार्यरत रहेका छन्। ती देशहरूमा क्रमशः शंकरप्रसाद शर्मा, चित्रलेखा यादव, पूर्णबहादुर नेपाली, सुम्निमा तुलाधर, शिवमाया तुम्बाहाम्फे र कपिलमान श्रेष्ठ राजदूतका रूपमा कार्यरत थिए।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलका अनुसार मन्त्रिपरिषद्को आइतबारको निर्णयपछि सोमबार सम्बन्धित राजदूतहरूलाई औपचारिक पत्राचार गरिएको हो।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ३४ कूटनीतिक नियोगमध्ये १७ मा राजनीतिक कोटाबाट राजदूत नियुक्त गरेको थियो। तीमध्ये ११ जनालाई यसअघि नै फिर्ता बोलाइसकिएको थियो भने बाँकी ६ जनालाई वर्तमान सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो।
सरकारको यो कदमलाई कूटनीतिक क्षेत्रमा नयाँ नियुक्ति र पुनर्संरचनाको तयारीका रूपमा विश्लेषण गरिएको छ। साथै, यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक प्राथमिकतामा नयाँ दिशा ल्याउने अपेक्षा गरिएको छ।