काठमाडौं । अभिनेता विराज भट्टले आफूभन्दा निकै कम उमेरकी अभिनेत्रीहरूसँग काम गरेको विषयमा उठेका आलोचनाप्रति प्रतिक्रिया दिएका छन्।
पछिल्ला केही वर्षयता उनले ‘साङ्लो’, ‘१२ गाउँ’ जस्ता फिल्महरूमा नयाँ अभिनेत्रीहरूसँग जोडी बाँध्दै आएका छन्। आगामी फिल्म ‘राम नाम सत्य’मा पनि उनले नव-अभिनेत्री खुसी कार्कीसँग अभिनय गरेका छन्। विशेषगरी ‘हुम्लाको लिमी’ गीत सार्वजनिक भएपछि उनीमाथि नातिनी उमेरकी युवतीसँग रोमान्स गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो।
काठमाडौंमा आयोजित फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनलाई यही विषयमा प्रश्न सोधिएको थियो। जवाफमा उनले नयाँ कलाकारलाई अवसर दिनु आवश्यक रहेको धारणा राखे। उनले भने, “फिल्म क्षेत्रमा राम्रो कलाकार आउनबाट वञ्चित नहोस् भन्ने मेरो सोच हो। यदि उमेर नमिलेको भन्दै नयाँ कलाकारलाई अस्वीकार गरियो भने प्रतिभा दबिन सक्छ।”
उनले उदाहरण दिँदै आफ्नै छोरा समीर भट्ट सँग पनि फिल्ममा दाइ-भाइको भूमिका निर्वाह गरेको उल्लेख गरे। उनका अनुसार, फिल्ममा नयाँ हिरोइनहरू प्रायः कम उमेरका हुने भएकाले त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने हुन्छ। विराजले नयाँ कलाकारसँग काम गर्दा आफूलाई सहज लाग्ने र उनीहरूबाट पनि सिक्ने अवसर मिल्ने बताए। “उनीहरूसँग काम गर्दा ऊर्जा मिल्छ, हामीले अनुभव बाँड्न सक्छौं र उनीहरूबाट नयाँ कुरा सिक्न पनि पाइन्छ,” उनले भने।
त्यसैगरी, उनले कलाकारहरूलाई दिइने विभिन्न ‘ट्याग’प्रति गम्भीर नहुन सुझाव दिएका छन्। “सबैभन्दा महत्वपूर्ण कुरा राम्रो कलाकार बन्नु हो। अभिनय, एक्सन, नृत्य-सबै पक्षमा सक्षम हुनुपर्छ। ट्यागलाई धेरै महत्व दिनु हुँदैन,” उनले भने।
विराजको यस अभिव्यक्तिलाई फिल्म क्षेत्रभित्र नयाँ र पुराना कलाकारबीचको सहकार्यबारे उठ्ने बहससँग जोडेर हेरिएको छ।