काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले प्रतिनिधिसभाको बिहीबारको पहिलो बैठकमा जेनजी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन्। उनले आयोगले भदौ २३ को घटना मात्र छानबिन गरेको र २४ को घटनालाई बेवास्ता गरेको बताउँदै त्यसमा असमानता भएको आरोप लगाए।
सांसद आङदेम्बेले भने, “कसैले २३ गतेको घटना देख्छ, तर २४ को देख्दैन। कसैले २४ को ध्वंस देख्छ, २३ को दमन नदेख्छ। यो प्रवृत्ति पूर्णतया गलत हो। आयोगले २३ को घटनामा अनुसन्धान गर्यो र कारबाही सिफारिस गर्यो, तर २४ को घटनाको अनुसन्धानमा समय अभाव देखाइएको छ। यस्तो कर्म नियतवश भएको होइन भन्ने भन्न सकिँदैन।”
उनी संसद् भवन खरानी भएको घटनालाई स्मरण गर्दै भविष्यमा यस्ता घटना नदोहरियोस् भनी सरकार र सदनलाई आग्रह गरे। “आज हामी बसिरहेका छौं यो हाम्रो संसद् भवन होइन। भदौ २४ गते संसद् भवन खरानी भयो। त्यो स्मरण गर्दै हामी संकल्प गरौं कि भविष्यमा देशलाई खरानी बनाउने कोही अघि नबढून्,” उनले भने।
सांसद आङ्देबेले प्रधानमन्त्री बालेन शाहतर्फ ध्यानाकर्षण गर्दै जाँचबुझ आयोगको प्रतिवेदन सरकार स्वयं सार्वजनिक गर्ने कि पत्रपत्रिकामा मात्र पढ्ने भन्ने स्पष्टता दिन आग्रह गरे। उनले जोड दिए, “सरकारले सुझबुझपूर्ण ढंगले कानून र प्रक्रियाको मर्यादा पालन गरेर आफ्नो प्रस्तुति दिनुपर्छ। कांग्रेस दोषीलाई उम्काउन चाहँदैन र निर्दोषलाई फसाउन पनि चाहँदैन।”
उनको यो वक्तव्यले जेनजी घटनाको दुवै दिनका घटनालाई समान रूपले छानबिन गर्न र राजनीतिक दबाबभन्दा मुक्त न्याय सुनिश्चित गर्न जरुरी रहेको विषयलाई पुनः उजागर गरेको छ।