काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि नवनिर्वाचित संसद्को पहिलो अधिवेशन आज (चैत १९)बाट सुरु हुँदै छ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय हलमा दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकका लागि आवश्यक तयारी पूरा भएको संघीय संसद् सचिवालयले जनाएको छ।
अधिवेशनको सुरुआतमा राजनीतिक दलका शीर्ष नेता तथा स्वतन्त्र सांसदले दलीय आधारमा सम्बोधन गर्ने परम्पराअनुसार आजको बैठकमा विभिन्न दलका नेताहरूले आफ्नो धारणा राख्ने कार्यक्रम तय गरिएको छ।
सरकारको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका तर्फबाट सम्बोधन गर्नेछन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट भने कसले बोल्ने भन्ने विषय अझै टुंगो लाग्न बाँकी रहेको जनाइएको छ।
त्यस्तै, नेकपा (एमाले)का तर्फबाट कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सम्बोधन गर्नेछन् भने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आफ्नो धारणा राख्ने तयारी गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले पनि सम्बोधन गर्ने कार्यक्रम छ।
यसपटक प्रतिनिधिसभामा रहेका एकमात्र स्वतन्त्र सांसद महावीर पुनलाई पनि बोल्नका लागि समय दिइनेछ। संघीय संसद्का प्रवक्ता एकराम गिरीका अनुसार स्वतन्त्र सांसदलाई पाँच मिनेटको समय छुट्याइएको छ।
विगतको तुलनामा यसपटक अन्य दलहरूलाई पनि संख्याका आधारमा पाउनेभन्दा बढी समय व्यवस्थापन गरिएको उनले बताए। यद्यपि, कुन-कुन नेताले बोल्ने भन्ने अन्तिम नामावली भने सम्बन्धित दलहरूले सचिवालयमा पठाउन बाँकी रहेको छ।
सभामुख चयन नभएसम्म बैठकको सञ्चालन ज्येष्ठ सदस्य तथा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गर्नेछन्। सभामुखको निर्वाचन चैत २२ गतेका लागि तय गरिएको छ।