काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध रूपमा चयन भएका छन्। च्यासलमा बसेको संसदीय दलको बैठकपछि भएको निर्वाचन प्रक्रियामा उनले एक्लै उम्मेदवारी दर्ता गरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। सो अवधिमा बादलले मात्र फारम बुझाएपछि उनलाई स्वतः निर्वाचित घोषणा गरिएको हो। प्रारम्भमा सुहाङ नेम्वाङले पनि उम्मेदवारी दिने तयारी गरेका थिए, तर प्रस्तावक र समर्थक नपुग्दा उनले अन्ततः उम्मेदवारी दर्ता गर्न सकेनन्।
संसदीय दलको बैठकमा सुहाङले युवालाई नेतृत्वमा ल्याउनुपर्ने धारणा राखेका थिए। तर अन्तिम समयमा उनका प्रस्तावक र समर्थक मानिएका सांसदहरू अन्य छलफलमा तानिएपछि उनी पछि हट्न बाध्य भएका थिए।
एमालेले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न सकेन। पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेतृत्वका धेरै उम्मेदवार पराजित भएपछि संसदीय नेतृत्वको जिम्मेवारी थप महत्वपूर्ण बनेको छ। यस्तो अवस्थामा ओलीको विश्वास जितेका बादललाई संसदीय दलको नेतृत्व सुम्पिएको हो।
बादल समानुपातिक प्रणालीमार्फत सांसद बनेका हुन्। उनी एमालेको पहिलो वरीयताका उपाध्यक्षसमेत हुन्, जसका कारण पार्टीभित्र उनको प्रभाव र हैसियत बलियो मानिन्छ।
उनको एमालेसँगको सम्बन्ध लामो नभए पनि पछिल्लो राजनीतिक घटनाक्रममा उनले अध्यक्ष ओलीलाई निरन्तर साथ दिएका छन्। २०७७ मा प्रतिनिधिसभा विघटनको निर्णयमा पनि उनले ओलीको खुलेर समर्थन गरेका थिए। त्यसयता एमालेभित्र उनले विश्वासिलो नेताको रूपमा स्थान बनाएका छन्।
राजनीतिक रूपमा बादलको यात्रा निकै लामो र उतारचढावपूर्ण छ। गुल्मीमा जन्मिएका उनी विद्यार्थी जीवनदेखि नै वामपन्थी राजनीतिमा सक्रिय थिए। २०३० को दशकमा कम्युनिस्ट आन्दोलनमा प्रवेश गरेका उनी विभिन्न चरणमा जेल जीवनसमेत बिताएका छन्। माओवादी आन्दोलनको समयमा उनी प्रमुख सैन्य कमान्डरका रूपमा चिनिएका थिए। २०५२ मा सुरु भएको ‘जनयुद्ध’मा उनले महत्वपूर्ण भूमिका खेलेका थिए। पछि शान्ति प्रक्रियामा आएपछि उनी माओवादी पार्टीको महासचिव र संगठन विभाग प्रमुख बने।
२०६४ को संविधानसभा निर्वाचनमा निर्वाचित भएका बादल २०६५ मा रक्षामन्त्री बनेका थिए। त्यसपछि २०७४ मा राष्ट्रिय सभा सदस्य हुँदै उनी ओली नेतृत्वको सरकारमा गृहमन्त्रीसमेत बने। राजनीतिक जीवनमा विभिन्न मोड पार गर्दै एमालेमा स्थापित भएका बादल अहिले संसदीय दलको नेतृत्वमा पुगेका छन्। पार्टी अध्यक्ष ओलीको नजिकको विश्वासपात्रका रूपमा चिनिएका उनले अब संसदभित्र पार्टीको रणनीति र भूमिका निर्धारण गर्नेछन्।
यद्यपि उनको पारिवारिक पृष्ठभूमि बेलाबेला विवादमा पनि आएको छ। विशेषगरी उनका छोरा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि उनको छवि केही प्रभावित भएको थियो।
अब एमाले संसदीय दलको नेतृत्व सम्हाल्दै बादलले पार्टीलाई संसदभित्र कसरी सशक्त बनाउँछन् भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।