काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल ले आजदेखि मन्त्रीस्तरीय निर्णय नगर्ने घोषणा गर्दै आफ्नो करिब ६ महिनाको कार्यकाल समाप्त भएको जनाएका छन्। निर्वाचन आयोग नेपाल ले प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु भएको हो।
खनालले नयाँ सरकार गठन भएपछि आफूले सम्हाल्दै आएको अर्थ मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी स्वतः समाप्त हुने बताएका छन्। उनले २०८२ भदौ ३० देखि अर्थ मन्त्रालय र असोज ७ देखि संघीय मामिला मन्त्रालय सम्हाल्दै आएका थिए।
उनका अनुसार अन्तरिम सरकारको मुख्य उद्देश्य लोकतान्त्रिक प्रक्रियामार्फत मुलुकलाई निकास दिनु, विधिको शासन सुदृढ गर्नु र भ्रष्टाचार नियन्त्रणमा प्रगति हासिल गर्नु थियो। सुशीला कार्की को नेतृत्वमा रहेको सरकारले जनअपेक्षाअनुसार काम गरेको उनले दाबी गरेका छन्।
खनालले आफ्नो कार्यकाल चुनौतीपूर्ण परिस्थितिमा सुरु भएको स्मरण गर्दै सीमित स्रोतसाधनका बाबजुद प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको बताए। साथै, सहिद परिवारलाई राहत वितरण, घाइतेहरूको उपचार, आन्दोलनका क्रममा क्षति भएका संरचनाको पुनर्निर्माण तथा सार्वजनिक सेवा प्रवाह पुनःस्थापनामा पनि बजेट खर्च गरिएको उनले उल्लेख गरे।
आन्दोलनपछि प्रभावित काठमाडौं उपत्यका लगायत प्रमुख आर्थिक केन्द्रहरूमा व्यवसाय पुनः सञ्चालनमा ल्याउन र निजी क्षेत्रको मनोबल उकास्न विशेष पहल गरिएको पनि उनको भनाइ छ।
उनका अनुसार फागुन मसान्तसम्म कुल ८२८ वटा निर्णय गरिएको छ, जसमा २७ वटा कागजी प्रक्रियामार्फत र बाँकी डिजिटल माध्यमबाट सम्पन्न भएका छन्। यस आधारमा औसत दैनिक ६.६८ वटा निर्णय गरिएको उनले जानकारी दिएका छन्।
नयाँ सरकार गठनसँगै खनालको कार्यकाल औपचारिक रूपमा समाप्त हुने भएको छ।