काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको छ, जससँगै मुलुक नयाँ सरकार गठनको प्रक्रियातर्फ अघि बढेको छ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन हस्तान्तरण गरेका हुन्। सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिका बाबजुद निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरे। उनले निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी तथा सम्बन्धित सबै पक्षलाई धन्यवाद पनि दिए।
राष्ट्रपति पौडेलले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै यसले लोकतन्त्रप्रति नागरिकको विश्वास थप मजबुत बनाएको बताए। निर्वाचन परिणामअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६५ र समानुपातिकतर्फ ११० सदस्य छन्। तीमध्ये करिब दुई तिहाइ अर्थात् १८२ सांसद राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका छन्।
नेपालको संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। सोही आधारमा अब केही दिनभित्र सरकार गठनको औपचारिक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
यसैबीच, संघीय संसद् सचिवालयले यही चैत १२ गते नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी गरेको छ। कानुनी व्यवस्था अनुसार प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिएपछि अन्य सांसदलाई शपथ गराउनेछन्।
संविधानको धारा ९३ अनुसार निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान छ। पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ र त्यसको सात दिनभित्र सभामुख तथा उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्नेछ।