काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूलाई हालै सम्पन्न निर्वाचन सफल पार्न योगदान पुर्याएकोमा धन्यवाद दिएकी छन्। प्रधानमन्त्रीको बोलावटमा नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं सहसंयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरू बालुवाटार पुगेका थिए।
प्रधानमन्त्री कार्कीले भेटवार्तामा भनिन्, “तपाईँहरूले निर्वाचनमा भाग लिइदिनुभयो, चुनावको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो। यसका लागि धेरै धन्यवाद।” उनले चुनावमा विजेतालाई बधाई दिँदै पराजितलाई अर्को अवसरको लागि शुभकामना पनि दिइन्।
नेकपाका नेताहरूले पनि निर्वाचन सम्पन्न भई देशले निकास पाएकोमा खुशी व्यक्त गर्दै प्रधानमन्त्रीलाई बधाई दिएका छन्। प्रचण्डले भने, “यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो। यसमा जुन साहस र मेहनतका साथ तपाईँले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ। हामीले शुरूबाटै निर्वाचनको विकल्प छैन भनेर उभिएका हौँ।”
पूर्वप्रधानमन्त्री नेपालले भने, “प्रधानमन्त्रीमा सुशीला कार्की आउने सुनेर निकै राहत महसुस भयो। पछि तपाईँ नआउने भन्ने समाचारले हामीलाई अलि आत्तिएको थियो। तपाईँ आइपुग्दा संविधान बच्छ, व्यवस्था जोगिन्छ र अवस्था सम्हालिन्छ भन्ने विश्वास थियो।”
नेकपाका नेताहरूको उपस्थितिले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचनको सफलताप्रति साझा प्रतिबद्धता देखाएको छ, जसले मुलुकमा शान्तिपूर्ण र लोकतान्त्रिक वातावरण कायम राख्न सहयोग पुर्याएको छ।