काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएसँगै आगामी संसद्को शक्ति सन्तुलन स्पष्ट भएको छ। प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक मतका आधारमा थप ५७ सिट पाउने देखिएपछि उसले कुल १८२ सिट पुर्याउने निश्चित भएको छ।
२७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्ने भएकाले रास्वपा दुई सिटले मात्र बहुमतबाट टाढा रहने देखिएको छ। निर्वाचन आयोगले अन्तिम सिट बाँडफाँट ‘सेन्ट-लग फर्मुला’का आधारमा गर्ने भए पनि हाल प्राप्त मतको आधारमा गरिएको प्रारम्भिक गणनाले यस्तो परिणाम देखाएको हो।
समानुपातिकतर्फ कुल एक करोड ७ लाख ६४ हजार ८ सय ८९ मतमध्ये रास्वपाले ५१ लाख ४६ हजार ६ सय ८१ मत प्राप्त गरेको छ, जुन कुल मतको करिब ४७ प्रतिशतभन्दा बढी हो। दोस्रो ठूलो दलको रूपमा रहेको नेपाली कांग्रेसले समानुपातिकबाट २० सिट पाउने अनुमान छ। प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसको कुल सिट संख्या ३८ पुग्ने देखिएको छ। गत प्रतिनिधिसभामा कांग्रेसका ८९ सिट रहेका थिए।
नेकपा एमालेले समानुपातिकबाट १६ सिट र प्रत्यक्षबाट ९ सिट जितेकाले उसको कुल सिट संख्या २५ पुग्ने देखिएको छ। अघिल्लो प्रतिनिधिसभामा एमालेका ७९ सिट रहेका थिए। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकबाट ९ सिट र प्रत्यक्षबाट ८ सिट जित्दै कुल १७ सिट पाउने देखिएको छ।
समानुपातिक प्रणालीबाट श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४/४ सिट पाउने देखिएको छ। प्रत्यक्षतर्फ ३ सिट जितेको श्रम संस्कृतिको कुल सिट ७ पुग्नेछ भने राप्रपाले प्रत्यक्षमा १ सिट जितेकाले कुल ५ सिट हुनेछ।
चार महिना अघि मात्र गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले यसपटकको निर्वाचनबाट राष्ट्रिय पार्टीको मान्यता प्राप्त गरेको छ। यद्यपि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र सिके राउत नेतृत्वको जनमत पार्टीले भने यसपटक प्रतिनिधिसभामा कुनै सिट जित्न सकेनन्।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार समानुपातिकतर्फको मतगणना सकिएपछि अब सिट बाँडफाँटको प्रक्रिया अघि बढाइनेछ। सिट निर्धारण भएपछि दलहरूलाई तीन दिनभित्र बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट समानुपातिक सांसद सिफारिस गर्न पत्र पठाइने उनले बताए।
दलहरूले पठाएको सिफारिस जाँचपछि आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्नेछ।