काठमाडौं। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका सबै क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। हालसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुईतिहाइ बहुमत नजिक पुगे पनि एक सिटले पुग्न नसक्ने सम्भावना देखिएको छ।
प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जितेको छ। त्यस्तै नेपाली कांग्रेसले १८, नेकपा (एमाले)ले ९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ७, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ सिट जितेका छन् भने एक जना स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन्।
यसैबीच समानुपातिकतर्फ मंगलबार अपराह्नसम्म १ करोड ५ लाख १४ हजार २५८ मत गणना भइसकेको छ। यसमध्ये रास्वपाले सबैभन्दा बढी ५० लाख ४० हजार ५२२ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले १७ लाख ७ हजार ७३४, एमालेले १४ लाख २४ हजार ४२८ र नेकपाले ७ लाख ७६ हजार ४२८ मत प्राप्त गरेका छन्। त्यस्तै श्रम संस्कृति पार्टीले ३ लाख ६५ हजार ४०६ र राप्रपाले ३ लाख २६ हजार ६०२ मत पाएका छन्। अन्य दलले ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउन नसक्ने देखिएको छ।
यस आधारमा समानुपातिकतर्फ ६ दलले मात्रै सिट पाउने अनुमान गरिएको छ। समानुपातिकतर्फ रास्वपाले ५८, कांग्रेसले १९, एमालेले १७, नेकपाले ९, श्रम संस्कृति पार्टीले ४ र राप्रपाले ४ सिट पाउने अनुमान गरिएको छ।
प्रत्यक्ष र समानुपातिक दुवै सिट जोड्दा प्रतिनिधिसभामा रास्वपाका १८३, कांग्रेसका ३७, एमालेका २५, नेकपाका १७, श्रम संस्कृतिका ७ र राप्रपाका ५ सिट पुग्ने देखिएको छ।
२७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्छ। हालको अनुमानअनुसार रास्वपा एक सिटले दुईतिहाइ बहुमतबाट वञ्चित हुन सक्ने देखिएको छ।