काठमाडौं । अभिनेता तथा गायक प्रकाश सपूत राजनीतिक यात्रामा अघि बढिरहेका बेला उनी अभिनीत नयाँ नेपाली फिल्म ‘परालको आगो’को टिजर सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक गरिएको टिजरमा सपूतलाई एक रिसाहा श्रीमानको भूमिकामा देखाइएको छ।
प्रकाश सपूत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ उम्मेदवार बनेका छन्। दलित पुरुष क्लस्टरको दोस्रो नम्बरमा रहेको उनको नामका कारण उनी सांसद बन्ने लगभग निश्चित भएको बताइएको छ। सार्वजनिक गरिएको टिजरमा श्रीमान-श्रीमती (चामे र गौँथली) बीचको झगडालाई केन्द्रमा राखिएको कथा झल्काइएको छ। टिजरमा सपूतसँगै अभिनेत्री सुहाना थापा श्रीमतीको भूमिकामा देखिएकी छन् भने अभिनेता सौगात मल्लको पनि उपस्थिती रहेको छ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्ममा सौगात मल्ल, प्रकाश सपूत र सुहाना थापासहित सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र मन्जिला बाँनिया लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्म हरिओम सिने मेकर्सको ब्यानरमा सुशील पोखरेलले निर्माण गरेका हुन् भने यसको कथा तथा लेखन सुशील देवकोटाले गरेका छन्।
फिल्म आगामी बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ। यसमा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन तथा कनाल कँवरको रंग संयोजन रहेको छ। संगीत शान्ती ठटाल, सत्य-स्वरुप र प्रकाश सपूतले दिएका छन्।
ग्रामीण लोककथाका प्रणेता मानिने गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’बाट प्रेरित भएर यो फिल्म निर्माण गरिएको हो।