काठमाडौं । पश्चिम एसियामा चुलिएको तनावका कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा उल्लेखनीय गिरावट आएको छ। कतार, कुवेत र संयुक्त अरब इमिरेट्स जस्ता प्रमुख ट्रान्जिट गन्तव्यतर्फका उडान प्रभावित भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र यात्रु संख्या करिब आधा घटेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार पछिल्लो एक सातादेखि कतार, संयुक्त अरब इमिरेट्स, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको हवाई क्षेत्रमा प्रतिबन्ध लगाइएपछि प्रमुख सात वटा वायुसेवा कम्पनीका दैनिक दुई दर्जनभन्दा बढी उडान रद्द भइरहेका छन्।
संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण तथा त्यसको प्रतिउत्तरमा इरानले गरेको प्रत्याक्रमणपछि पश्चिम एसियाका धेरै देशले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्। यसको प्रत्यक्ष असर नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा परेको हो।
हाल फ्लाई दुबई र एयर अरेबियाले नेपालमा राहत उडान सञ्चालन गरे पनि यात्राकै क्रममा रोकिएका यात्रुलाई मात्र प्राथमिकता दिइएको प्रवक्ता बस्नेतले जानकारी दिए। उडानको अनिश्चितता तथा अन्य कारणले यात्रु आवागमनमा कमी आएको पनि उनले बताए।
पश्चिम एसियाको हवाई आकाश बन्द भएपछि युरोप, अमेरिका र अस्ट्रेलियातर्फ जाने यात्रुले अहिले ट्रान्जिट मार्ग परिवर्तन गर्न थालेका छन्। यसअघि कतार र दुबई हुँदै विभिन्न गन्तव्य जाने यात्रु अहिले भारत, मलेसिया र चीनका विमानस्थललाई वैकल्पिक ट्रान्जिटका रूपमा रोज्न थालेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार यस अवस्थाले नेपालको हवाई क्षेत्रसँगै पर्यटन क्षेत्रमा पनि असर परेको छ।
उनका अनुसार यसअघि दैनिक करिब १६ हजारभन्दा बढी यात्रुले काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएकामा पछिल्लो एक सातादेखि उक्त संख्या आधा घटेको छ। यसले विमानस्थलको आम्दानीमा कमी आउनुका साथै विदेश जाने विद्यार्थी, श्रमिक र पर्यटकको आवागमनमा समेत असर परेको उनले बताए।
विमानस्थल कार्यालयका अनुसार फागुन १६ गतेअघि दैनिक करिब एक सय अन्तर्राष्ट्रिय उडान हुने गरेकोमा हाल उक्त संख्या घटेर करिब ५० मा सीमित भएको छ।
त्यस्तै फागुन १२ देखि १६ गतेसम्म २४३ उडान अवतरणमार्फत ७८ हजार २९१ यात्रुले यात्रा गरेका थिए। तर खाडी क्षेत्रतर्फका उडान रोकिएपछि फागुन १७ देखि २१ गतेसम्म १७८ उडान अवतरणमार्फत ४८ हजार २७४ यात्रुले मात्र अन्तर्राष्ट्रिय उडान सेवा लिएका छन्।
पश्चिम एसियाको हवाई क्षेत्रमा जारी अवरोध लामो समयसम्म कायम रहे नेपालको पर्यटन तथा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा अझ गम्भीर असर पर्ने सरोकारवालाले बताएका छन्।