काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत २८ निर्वाचन क्षेत्रको अन्तिम नतिजा आउन अझै बाँकी रहेको छ। तीमध्ये १८ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिइरहेका छन्।
हालसम्म सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १०६ सिट जितिसकेको छ। यसैगरी नेपाली कांग्रेसले १५, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) ले ७, नेपाल कम्युनिस्ट पार्टीले ६, राष्ट्रिय प्रजातन्त्र पार्टीले १, श्रम संस्कृतिले १ तथा एक स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन्।
गत बिहीबार सम्पन्न निर्वाचनको मतगणना अझै जारी छ। प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रमा अहिले समानुपातिकतर्फको मतगणना सुरु गरिएको छ। समानुपातिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै अग्रता रहेको बताइएको छ।
यसअघि विघटित प्रतिनिधिसभामा चौथो ठूलो दल रहेको राष्ट्रिय स्वतन्त्र पार्टी यसपटक स्पष्ट बहुमततर्फ अघि बढेको देखिएको छ। विघटित प्रतिनिधिसभामा पहिलो, दोस्रो र तेस्रो दल रहेका नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी भने यसपटक निकै खुम्चिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै चुनावी अभियान सञ्चालन गरेको थियो। बालेन्द्र शाह यसअघि काठमाडौं महानगरपालिकाका मेयर थिए। २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर निर्वाचित भएका उनले यसपटक मेयर पद त्यागेर प्रतिनिधिसभाको चुनाव लडेका हुन्।
शाह झापा जिल्ला क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले ६८ हजार ३४८ मत प्राप्त गर्दै केपी शर्मा ओलीलाई पराजित गरेका हुन्। ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका थिए। दुवैबीच ४९ हजार ६१४ मतको अन्तर रहेको छ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतमले पार्टीले चुनावअघि नै शाहलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेकाले अब उनको नेतृत्वमा सरकार बन्ने बताएकी छन्। उनी आफैँ पनि चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएकी छन्।
निर्वाचनपछि पत्रकारसँग कुराकानी गर्दै गौतमले जनताले अन्तिम आशाका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गरेर मत दिएको बताउँदै उक्त विश्वासलाई परिणाममा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिन्।