काठमाडौं । मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली प्रतिनिधिसभा सदस्यमा पुनः निर्वाचित भएका छन्। ३२ वर्षको उमेरमै उनले दोस्रो पटक संसद् यात्रा तय गरेका हुन्।
निर्वाचन परिणामअनुसार गौचनले ३ हजार ३०७ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका इन्द्रधरा ढाडु विष्टले १ हजार ८०३ मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अधितीयचन्द्र थकाली ७५९ मतसहित तेस्रो स्थानमा रहे।
देशभर विभिन्न स्थानमा नयाँ दल र युवा उम्मेदवारहरूको प्रभाव देखिएको निर्वाचनमा मुस्ताङबाट कांग्रेसले निकालेको यो जितलाई पार्टीका लागि ‘सन्देशमूलक’ मानिएको छ।
योगेश गौचन थकाली नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बाबुको स्थानबाट उम्मेदवारी पाएका उनले पहिलोपटक २९ वर्षको उमेरमै संसद् प्रवेश गरेका थिए।
२०७४ सालको निर्वाचनपछि रोमी गौचन सक्रिय रूपमा चुनाव नलड्ने निर्णयमा पुगेपछि मुस्ताङमा कांग्रेसको उम्मेदवार चयन चुनौतीपूर्ण बनेको थियो। त्यसपछि अन्ततः रोमीले आफ्नै छोरा योगेशलाई उम्मेदवार बनाएका थिए, जसले चुनाव जित्दै संसद् यात्रा तय गरेका थिए।
२०५० साल वैशाख २७ गते मुस्ताङको लेते ९हाल थासाङ गाउँपालिका० मा जन्मिएका योगेशले बिजनेस म्यानेजमेन्टमा स्नातक तहसम्म अध्ययन गरेका छन्। राजनीति अघि बढाउनुअघि उनी पर्यटन र होटल व्यवसायसँग पनि सक्रिय रूपमा जोडिएका थिए।
मुस्ताङमा सञ्चालनमा रहेको पारिवारिक होटल ‘कालोपानी’ र पोखरामा ‘त्रिथुङ्गा ट्राभल्स एण्ड टुर्स’ लगायतका व्यवसायमा उनको संलग्नता रहेको छ। साथै गाउँमै किवी खेतीको व्यवसायिक विस्तारमा पनि उनी सक्रिय रहेका छन्।
राजनीतिसँगै व्यवसायिक क्षेत्रमा पनि सक्रिय रहँदै आएका गौचन युवा नेतृत्वको प्रतिनिधित्व गर्दै पुनः संसद् पुगेका हुन्।