काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले मौन अवधिमा हुन सक्ने कुनै पनि प्रकारका चलखेल रोक्न विशेष निगरानीको व्यवस्था गरेको जनाएको छ। निर्वाचन आयुक्त सगुन शम्शेर राणाका अनुसार राजनीतिक दल वा उम्मेदवारबाट मतदातालाई प्रभाव पार्ने गतिविधि हुन नदिन जिल्ला अनुगमन अधिकृत तथा सुरक्षा निकाय परिचालन गरिएको छ।
फागुन २१ गते हुने निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ। देशभर करिब तीन लाख ४२ हजार सुरक्षाकर्मी परिचालन भइसकेका छन् भने मतपत्र सम्बन्धित निर्वाचन क्षेत्रमा पुर्याइसकिएको छ। मतदान अधिकृतहरूको तालिम सम्पन्न भई उनीहरू कार्यस्थल पुगिसकेका छन्।
आयुक्त राणाले मौन अवधि उम्मेदवार र दललाई शान्त रहन तथा मतदातालाई स्वतन्त्र रूपमा निर्णय लिन दिइएको समय भएको स्पष्ट पार्दै आचारसंहिता उल्लङ्घन नगर्न सबैलाई आग्रह गरे। “मौन अवधिमा आचारसंहिताविपरीतका गतिविधि हुन सक्ने जोखिमप्रति आयोग सजग छ,” उनले भने, “कानुनविपरीतका कार्य रोक्न विशेष निगरानी मिलाइएको छ।”
सामाजिक सञ्जाल र एआइ चुनौती
यसपटक निर्वाचन प्रचारप्रसारका क्रममा सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्ता (एआइ) को दुरुपयोग मुख्य चुनौतीका रूपमा देखिएको आयोगको भनाइ छ। विगतमा भित्ते लेखन, झण्डा-टोपीजस्ता भौतिक सामग्रीमार्फत हुने उल्लङ्घन घटे पनि डिजिटल माध्यममा भ्रामक सामग्री र आरोप-प्रत्यारोप बढेको पाइएको छ। आयोगले सामाजिक सञ्जाल प्लेटफर्म, साइबर ब्यूरो तथा सुरक्षा निकायसँग समन्वय गरी उल्लङ्घनकारी सामग्री हटाउने व्यवस्था मिलाएको जनाएको छ।
मतदाता शिक्षा र बदर मत न्यूनीकरण
मतदाता शिक्षालाई यसपटक प्राथमिकतामा राखिएको आयोगको दाबी छ। स्वयंसेविकामार्फत गाउँबस्तीसम्म पुगेर मतदाता शिक्षा अभियान सञ्चालन गरिएको छ। मतपत्रमा स्पष्ट रूपमा निर्वाचन चिह्नको कोठाभित्र मात्र स्वस्तिक छाप लगाउन र सही तरिकाले फोल्ड गर्न आयोगले आग्रह गरेको छ। बदर मत घट्ने अपेक्षा आयोगले गरेको छ।
सुरक्षा र व्यवस्थापन
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकारसँग प्रभावकारी समन्वय भइरहेको आयोगले जनाएको छ। सातवटै प्रदेशमा निर्वाचन सुरक्षा गोष्ठी सम्पन्न भइसकेका छन्। एक हजारसम्म मतदाता भएको स्थानमा एउटा मतदान केन्द्र र त्योभन्दा बढी भए थप केन्द्रको व्यवस्था गरिएको छ। वृद्ध, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला र बिरामीलाई प्राथमिकता दिइने व्यवस्था मिलाइएको छ।
मतगणना छिटो गर्ने प्रयास
विगतमा मतगणना ढिलो भएको गुनासो दोहोरिन नदिन यसपटक आवश्यक जनशक्ति बढाइएको छ। यद्यपि स्वचालित प्रणाली नभएकाले मतगणना म्यानुअल रूपमा हुनेछ। भौगोलिक विकटताका कारण कतिपय स्थानमा मतपेटिका संकलनमा समय लाग्न सक्ने भए पनि प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन आयोग प्रतिबद्ध रहेको आयुक्त राणाले बताए।
आयुक्त राणाले यस निर्वाचनलाई विशेष परिस्थितिमा हुन लागेको महत्त्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै सबै मतदातालाई अनिवार्य रूपमा मतदान गर्न अपिल गरेका छन्। लोकतन्त्र सुदृढीकरण, सुशासन र समृद्धिको आधार निर्वाचन भएकाले योग्य उम्मेदवार छनोट गर्न उनले आह्वान गरे।