काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका नेपाल प्रहरीले नै ढुवानी गर्ने स्पष्ट पारेका छन्। एकीकृत सुरक्षा योजना अनुरूप सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाइएको भन्दै उनले मतपेटिका ढुवानीबारे कुनै भ्रम राख्न आवश्यक नरहेको बताएका हुन्।
शुक्रबार विराटनगरमा सुरक्षा निकायहरूसँग निर्वाचन सुरक्षाबारे छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले विगतकै अभ्यासअनुसार सुरक्षाको घेरा कायम रहने जानकारी दिए। “अलमलमा पर्न जरुरी छैन। बाँकी काम मतदान अधिकृतले नै गर्ने हो। नेपाल प्रहरीको सहयोग लिएर गर्ने हो। त्यसको ढाँचा नै त्यसैमा उल्लेख गरेका छौं,” उनले भने।
उनका अनुसार मतदान केन्द्र र मतगणना स्थलको सुरक्षामा तीन तहको घेरा रहनेछ। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिनेछ। मतदान अधिकृतले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेराभित्रै मतपेटिका गणनास्थलसम्म पुर्याउने व्यवस्था मिलाइएको उनले स्पष्ट पारे।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री अर्यालले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै सुरक्षा निकायबीच समन्वयात्मक रूपमा काम भइरहेको बताए। उनले स्थापित सुरक्षा मापदण्डअनुसार सम्पूर्ण प्रक्रिया अगाडि बढाइने उल्लेख गर्दै मतपेटिका ढुवानी र सुरक्षासम्बन्धी विषयमा अनावश्यक भ्रम फैलाउन नहुने धारणा राखे।
त्यस्तै, उनले कुनै पनि अवस्थामा निर्वाचन तोकिएकै समयमा सम्पन्न हुने दाबी गरे। वर्तमान सरकार गैरदलीय र निष्पक्ष ढंगले काम गरिरहेको उल्लेख गर्दै कानुनको पूर्ण पालना र कडाइका साथ कार्यान्वयन गरिने बताए।
दण्डहीनताको अन्त्य वर्तमान सरकारको प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री अर्यालले कानुन उल्लंघन गर्ने जो-कोहीमाथि कानुनी कारबाही हुने चेतावनी दिए।