काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस नेतृत्वको सरकार बनेपछि निवर्तमान सभापति शेरबहादुर देउवाबाटै सम्पत्तिको छानबिन सुरु गरिने घोषणा गरेका छन्। उनले आफूहरूबाटै अनुसन्धान प्रक्रिया थालेर सुशासन र पारदर्शिताको सन्देश दिने प्रतिबद्धता व्यक्त गरे।
पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले देशलाई “प्रयोगशाला” बनाउन नहुने बताएका हुन्। उनले सरकारमा पुगेपछि सिक्ने वा योजना बनाउने समय नभएको उल्लेख गर्दै पहिलो दिनदेखि काम गर्न सक्ने तयारीसहितको टिम आवश्यक रहेको बताए। “सरकारमा गएर मात्रै सिक्ने, योजना बनाउनेहरूलाई जिम्मा दिइयो भने देश फेरि पछाडि धकेलिन्छ,” उनले भने, “सिकेर तम्तयार भएको टिमलाई देश हाँक्ने जिम्मा दिनुपर्छ, त्यस्तो टिम नेपाली कांग्रेससँग मात्रै छ।”
थापाले विगत सात वर्षदेखि आफू सरकार सञ्चालनको तयारीमा रहेको दाबी गर्दै सरकारमा गएकै दिनदेखि कार्यान्वयन गर्न सकिने स्पष्ट खाका तयार रहेको बताए। उनले देशलाई एक्लैले बनाउन वा चलाउन नसकिने उल्लेख गर्दै सबैलाई समेटेर अघि बढ्ने क्षमता कांग्रेससँग मात्र रहेको जिकिर गरे। “देश एक्लैले बनाउन सकिने चिज होइन, सबैलाई समेटेर बनाउनु पर्छ,” उनले भने, “त्यो काम कांग्रेस बाहेक अरूले गर्न सक्दैनन्, त्यसैले कांग्रेसलाई बहुमत दिनुहुन अनुरोध छ।”
सभापति थापाले कांग्रेस अहिले पहिलेभन्दा धेरै सुध्रिएको दाबी गर्दै मत नहाल्नु पर्ने कारण नभएको र मत हाल्नु पर्ने कारण धेरै रहेको बताए। उनले नयाँ सरकार गठन भएलगत्तै शक्तिशाली आयोग गठन गरेर विगतका हरेक काण्डको एक-एक छानबिन गरिने अठोट व्यक्त गरे।
उनका अनुसार कांग्रेस नेतृत्वको सरकारले कुनै नयाँ काण्ड हुन नदिने मात्र होइन, त्यसका लागि कानुनी तथा संस्थागत व्यवस्था समेत सुदृढ गरिनेछ। “कांग्रेस विधिमा विश्वास गर्ने पार्टी हो, मनलाग्दी गर्दैन,” उनले स्पष्ट पारे।
थापाको यो अभिव्यक्तिलाई चुनावी अभियानका क्रममा सुशासन र पारदर्शितालाई केन्द्रमा राखेर मतदाता आकर्षित गर्ने प्रयासका रूपमा हेरिएको छ।