काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिले हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा राजनीतिक दल, उम्मेदवार, सरकारी-गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई स्पष्टीकरण सोधेको छ। यसमध्ये ५७ वटा जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार, ८१ जनालाई लिखित स्पष्टीकरण र ६ जनालाई पुनः स्पष्टीकरण सोधिएको छ। सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई प्रेस काउन्सिलमार्फत कारबाहीका लागि पठाइएको छ। यसमा निर्वाचन विश्लेषण र मत सर्वेक्षणसम्बन्धी समाचार सामग्री प्रकाशन गरेको सेतोपाटी अनलाइनलाई समेत स्पष्टीकरण सोधिएको छ।
जिल्लास्तरमा पनि निर्वाचन आचारसंहिता उल्लङ्घनविरुद्ध उजुरी परेका घटनाको जाँच भइरहेको छ। आयोगले प्राप्त उजुरीहरूको आधारमा आवश्यक जाँचबुझ र कानुनी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। हालसम्म प्राप्त ५४ जवाफको अध्ययन भइरहेको छ।
आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय सक्रिय छन्। ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी आर्थिक बाहेकका विषय र प्रमुख कोष नियन्त्रक आर्थिक विषयमा अनुगमन अधिकृतको रूपमा तोकिएका छन्।
निर्वाचन आयोगले छोटो समयमा सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने, पालन सुनिश्चित गर्ने र उल्लङ्घन देखिएका घटनामा कानुनी कारबाही अघि बढाउने प्रतिबद्धता जनाएको छ।