काठमाडौं । संघीय राजधानी अन्तर्गत पर्ने काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका नेपाली कांग्रेसका १५ संघीय निर्वाचन क्षेत्रका उम्मेदवारहरूले आज साझा विकास मार्गचित्र सार्वजनिक गर्ने भएका छन्। ‘भिजन १०’ नाम दिइएको उक्त प्रतिबद्धतामा उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने प्रमुख कामहरूको खाका समेटिएको जनाइएको छ।
उपत्यकामा काठमाडौंका १०, ललितपुरका ३ र भक्तपुरका २ गरी १५ संघीय निर्वाचन क्षेत्र रहेका छन्। ती सबै क्षेत्रका उम्मेदवारहरूको उपस्थितिमा साझा प्रतिबद्धता सार्वजनिक गरिने जानकारी नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं-५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले दिएका छन्।
महामन्त्री पौडेलका अनुसार संघीय राजधानीको यातायात व्यवस्थापन, पूर्वाधार विस्तार, शहरी व्यवस्थापन, वातावरण संरक्षणलगायतका विषयमा उम्मेदवारहरूबीच विस्तृत परामर्शपछि साझा खाका तयार पारिएको हो। “समग्र उपत्यकाको विकासको मार्गचित्र हाम्रो प्राथमिकतामा छ। एक्लाएक्लैभन्दा साझा रूपमा मुद्दा उठाउँदा प्रभावकारी हुने भएकाले साझा प्रतिबद्धता सार्वजनिक गर्न लागेका हौँ,” उनले भने।
कार्यक्रम काठमाडौंको विशालनगरस्थित भाटभटेनी परिसरमा दिउँसो १ बजे आयोजना गरिनेछ। कार्यक्रममा तीनवटै जिल्लाका नेपाली कांग्रेसका उम्मेदवारहरूको सहभागिता रहने नेपाली कांग्रेस काठमाडौंका सचिव सुशन वैद्यले जानकारी दिएका छन्।
नेपाली कांग्रेसले उपत्यकाको दीर्घकालीन योजना, पूर्वाधार सुदृढीकरण र समन्वित शहरी विकासलाई केन्द्रमा राख्दै चुनावी अभियानलाई अघि बढाउने रणनीति लिएको बताइएको छ।