काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिको नेतृत्व एमाले बाहेक अरु कसैले गर्न नसक्ने दाबी गरेका छन् । सोमबार झापामा आयोजित कोशी प्रदेश स्तरीय ‘नेशनल भोलेन्टियर फोर्स’ को कमिटी गठन तथा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताका हुन् ।
अध्यक्ष ओलीले एमालेको विकास प्रेमी छवि रहेको कुरा आम नागरिकलाई जानकारी रहेको बताए । विपक्षीहरूको ‘भिजनविहीन’ राजनीतिले देश विकास हुन नसक्ने बताए। ओलीले नेशनल भोलेन्टियर फोर्स केवल निर्वाचनका लागि मात्र नभई देशमा शान्ति, सुव्यवस्था र लोकतन्त्रको रक्षाका लागि सधैं सक्रिय रहने एउटा अनुशासित दस्ता भएको स्पष्ट पारे।
अध्यक्ष ओलीले विकासका सन्दर्भमा एमालेको रिपोर्ट कार्ड प्रस्तुत गर्दै विपक्षीहरूलाई चुनौती दिए ।
आसन्न निर्वाचनको सन्दर्भमा बोल्दै ओलीले नेशनल भोलेन्टियर फोर्सलाई शान्तिपूर्ण मतदानको वातावरण बनाउन निर्देशन दिए।
ओलीले आफ्नो कार्यकालमा सुरु भएका तर अहिले रोकिएका आयोजनाहरूको चर्चा गर्दै ती कामहरू पूरा गर्न एमाले नै सरकारमा आउनुपर्ने बताए ।
अध्यक्ष ओलीले झापा, कोशी प्रदेश र सिङ्गो देशको विकासको ग्यारेन्टी लिए । ओलीले आफू सरकारमा रहँदा धौबादी फलाम खानीको आधुनिकीकरण र दैलेखको मिथेन ग्यास उत्खननलाई प्राथमिकतामा राखिएको बताए ।
उनले देशभर एमालेलाई विजयी बनाउन आग्रह गर्दै सूर्य चिह्नमा मतदान गर्न आह्वान समेत गरे । एमालेको संकल्प समृद्ध नेपाल र सुखी नेपाली रहेको बताउँदै एमालेले बनाउने तर कहिल्यै नबिगार्ने जिकिर गरे ।