काठमाडौं। टी-२० विश्वकप २०२५ अन्तर्गत क्रिकेटको सबैभन्दा बहुप्रतिक्षित प्रतिस्पर्धा आज कोलम्बोस्थित आर प्रेमादासा रंगशाला मा हुँदैछ। साँझ ७:१५ बजे सुरु हुने खेलमा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आमनेसामने हुँदैछन्। मैदानमा खेलाडीबीचको प्रतिस्पर्धा जति रोमाञ्चक हुने अपेक्षा गरिएको छ, त्यति नै राजनीतिक पृष्ठभूमिका कारण यो भिडन्तलाई ‘हाई भोल्टेज’ मानिएको छ।
कोलम्बोको मौसम भने अनिश्चित देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले खेलका क्रममा हल्का वर्षाको सम्भावना औंल्याएका छन्। आकाश बादलले ढाकिएको अवस्थामा वर्षा भए खेल प्रभावित हुन सक्ने अनुमान गरिएको छ। ३५ हजार दर्शक क्षमताको रंगशालामा १८ हजार भारतीय र १२ हजार पाकिस्तानी समर्थक उपस्थित हुने जनाइएको छ, जसले रंगशालालाई उत्साह र ऊर्जा भरिने अपेक्षा गरिएको छ।
भारत र पाकिस्तानबीचको राजनीतिक सम्बन्ध दशकौँदेखि तनावपूर्ण रहँदै आएको छ, जसको प्रभाव क्रिकेटमा पनि देखिँदै आएको छ। २०२५ को एशिया कपदेखि दुवै टोलीबीच विवाद चर्किँदै गएको थियो। सेप्टेम्बर १४ मा भएको खेलमा भारतीय कप्तान सूर्यकुमार यादवले पाकिस्तानी कप्तान सलमान अली आघासँग हात नमिलाएको घटनाले व्यापक चर्चा पाएको थियो। खेलपछि पनि भारतीय खेलाडीहरूले पाकिस्तानी खेलाडीसँग हात नमिलाएका थिएनन्। यादवले त्यसलाई कश्मीरमा भएको हमलासँग जोड्दै “जीवनमा केही कुरा खेलभावनाभन्दा माथि हुन्छन्” भनेका थिए।
सेप्टेम्बर १७ मा पाकिस्तानले अम्पायरको भूमिकामाथि प्रश्न उठाउँदै खेल सुरु गर्न अस्वीकार गरेको थियो। हात नमिलाउने वातावरण सिर्जना गर्न अम्पायर एन्डी पिक्रफ्टको भूमिका रहेको आरोप पाकिस्तान क्रिकेट बोर्डले लगाएको थियो। वार्तापछि खेल सञ्चालन भए पनि विवादले थप चर्चा पायो। सेप्टेम्बर २१ को खेलमा दुवै टोलीका खेलाडीबीच शब्दयुद्ध र आक्रामक इशाराबाजी देखियो। पाकिस्तानका बलर हरिस रौफ र भारतीय ब्याटर अभिषेक शर्माबीचको तनाव चर्चित रह्यो भने शाहिबजादा फरहानको ‘बन्दुक शैली’ सेलिब्रेसनले थप आलोचना निम्त्यायो।
एशिया कपको फाइनलमा भारतले पाकिस्तानलाई पाँच रनले हराए पनि उपाधि हस्तान्तरण कार्यक्रममा नयाँ विवाद देखियो। पाकिस्तानी गृहमन्त्री मोहसिन नक्भीको हातबाट ट्रफी लिन भारतले अस्वीकार गरेको थियो, जसले कार्यक्रम केही समय ढिलाइ भयो। पछि International Cricket Council (आईसीसी) ले खेलाडीहरूको व्यवहारबारे छानबिन गर्दै केही खेलाडीमाथि जरिवाना र डिमेरिट पोइन्टको कारबाही गरेको थियो।
यसैबीच, जनवरी २५ मा पाकिस्तानले टी-२० विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने निर्णय गरेको थियो। तर आईसीसी र आयोजक राष्ट्र श्रीलंकाको आग्रहपछि फेब्रुअरी ९ मा उक्त निर्णय फिर्ता लिइयो। दुवै टोलीका कप्तानले खेलका लागि पूर्ण तयारी रहेको बताएका छन्।
दक्षिण एसियामा सबैभन्दा धेरै क्रेज रहेको क्रिकेटमा भारत-पाकिस्तान भिडन्तलाई केवल खेलको रूपमा मात्र हेरिँदैन। यो प्रतिस्पर्धाले भावनात्मक, राजनीतिक र कूटनीतिक सन्देशसमेत बोकेको हुन्छ। आजको खेलले अंकतालिकामा मात्र होइन, दुई राष्ट्रबीचको खेल सम्बन्धको भविष्यमा समेत प्रभाव पार्ने आँकलन गरिएको छ। अब सबैको ध्यान कोलम्बोको आकाश र मैदानतर्फ केन्द्रित छ-वर्षाले खेल रोक्ला कि इतिहास रचिनेछ, त्यो केही घण्टामै स्पष्ट हुनेछ।