काठमाडौं । रङ्गशाला निर्माण सम्पन्न भएसँगै भोजपुरमा खेल गतिविधि उल्लेख्य रूपमा बढेको छ। भोजपुर नगरपालिका-७ कोदारमा निर्माण गरिएको आधुनिक रङ्गशालाले जिल्लाको खेल पूर्वाधारलाई नयाँ गति दिएको हो।
देश सङ्घीय संरचनामा प्रवेश गरेपछि निर्माण गरिएको पाँच हजार दर्शक अट्न सक्ने क्षमताको यो रङ्गशाला कोशी प्रदेश सरकारको १४ करोड पाँच लाख रुपैयाँ लागतमा बनेको हो। करिब सात हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको संरचना कुल २५ रोपनी क्षेत्रफलमा अवस्थित छ, जहाँ सात वटा प्यारापिट निर्माण गरिएका छन्।
विसं २०६४ मा तत्कालीन जिल्ला विकास समिति बोर्डले ५५ लाख रुपैयाँमा जिल्ला खेलकुद परिषद्मार्फत जग्गा खरिद गरेको थियो। प्रारम्भिक चरणमा केही बजेट विनियोजन भए पनि स्रोत अभावका कारण योजना लामो समय रोकिएको थियो। अब भने वर्षौँदेखिको सपना साकार भएको छ। रङ्गशाला सञ्चालनमा आएसँगै जिल्लामै राष्ट्रिय तथा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न सहज भएको छ। यसले खेल पर्यटन प्रवर्द्धन, स्थानीय आर्थिक गतिविधि वृद्धि तथा नयाँ प्रतिभा पहिचान र उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
यही भूमिमा जन्मिएकी अल्ट्रा धाविका मिरा राईले अन्तरराष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाएकी छन्। ब्याडमिन्टनतर्फ नङशलादेवी तामाङ, रत्नजित तामाङ, सरादेवी तामाङ, विकास श्रेष्ठ, विवेक श्रेष्ठ र नवीन श्रेष्ठ तथा भलिबलका जोसन श्रेष्ठ र दुर्जकुमार राईलगायत खेलाडीले पनि राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पहिचान बनाएका छन्।
यति धेरै प्रतिभा जन्माउने जिल्लामा विगतमा पर्याप्त खेल पूर्वाधारको अभाव थियो। नियमित प्रशिक्षण, स्तरीय प्रतियोगिता तथा आवश्यक सुविधाको कमीले खेलाडीले कठिनाइ भोग्दै आएका थिए। स्थानीय खेलप्रेमीका अनुसार आधुनिक सुविधासहितको रङ्गशाला निर्माण भएपछि युवाहरू खेलप्रति थप आकर्षित भएका छन् र जिल्लामा खेलकुदको वातावरण थप सशक्त बन्दै गएको छ।