काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुदूरपश्चिम प्रदेश सरकारमाथि गम्भीर आरोप लगाउँदै मुख्यमन्त्रीलाई राजीनामा दिन सार्वजनिक रूपमा आग्रह गरेको छ। साबिक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीचको एकतापछि प्रदेशसभामा ठूलो दल बनेको नेकपाले बुधबार पत्रकार सम्मेलन गर्दै सरकारविरुद्ध १२ बुँदे अभियोगपत्र सार्वजनिक गरेको हो।
दलका नेता खगराज भट्टले सरकारको दोस्रो कार्यकालको आधाभन्दा बढी समय बितिसक्दा पनि प्रदेश सरकार अस्थिरता, निष्क्रियता र दिशाहीनताको अवस्थामा पुगेको आरोप लगाए। उनले विकास निर्माणदेखि सेवा प्रवाहसम्मका क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको दाबी गरे। “सरकारबाट अपेक्षित कामहरू कछुवा गतिमा मात्र होइन, कतिपय अवस्थामा पूर्ण रूपमा ठप्प छन्,” भट्टले भने, “न त विकास खर्चले गति लिएको छ, न त जनताले सरकारको उपस्थिति अनुभूति गरेका छन्। यस्तो अवस्थामा वर्तमान नेतृत्वले निरन्तरता पाउनु प्रदेशका लागि हानिकारक हुन्छ।”
नेकपाले प्राकृतिक विपत्ति र संकटका बेला सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप लगाएको छ। बैतडी बस दुर्घटनाको छानबिन प्रक्रिया अघि नबढेको, भूकम्प, बाढी, आरक्ष तथा पहिरो पीडितहरूको पुनर्स्थापना प्रभावकारी ढंगले हुन नसकेको आरोप पनि पार्टीले लगाएको छ। त्यस्तै, प्रदेश राजधानी कार्यान्वयनमा ढिलाइ, आवश्यक कानुन निर्माणमा कमजोरी, बजेट कार्यान्वयन सुस्त हुनु, मुख्यमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालयसम्म बेथिति मौलाउनु, अस्पतालमा नियुक्ति प्रक्रिया ढिला हुनु तथा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्पन्न गर्न नसक्नु सरकारको लाचारीपनको उदाहरण भएको नेकपाको आरोप छ।
नीति आयोगमा बेथिति, आयोजना नै नभएको लगानी सम्मेलनको नाममा अपारदर्शी खर्च, सर्वोच्च अदालतको आदेश कार्यान्वयनमा आलटाल, अस्थायी कार्यालय स्थापना गरी मनपरी खर्च र ऐन नबनाई गठन आदेशलाई प्राथमिकता दिनुजस्ता विषयलाई पनि अभियोगपत्रमा समेटिएको छ। नेकपाले समग्र रूपमा प्रदेश सरकार सुशासन, पारदर्शिता र जबाफदेहिताको मापदण्डमा असफल भएको ठहर गर्दै १२ बुँदे आरोपप्रति सरकार गम्भीर नबने जनआन्दोलनसम्मको विकल्प खुला रहने चेतावनी दिएको छ।
मुख्यमन्त्रीलाई नैतिक आधारमा राजीनामा दिन आग्रह गर्दै नेकपाले प्रदेश सरकारको नेतृत्व परिवर्तन अपरिहार्य भइसकेको दाबी गरेको छ।