काठमाडौं । सन् २०१४ मा बंगलादेशमा भएको आईसीसी टी-२० विश्वकपबाट डेब्यु गर्दै हङकङ र अफगानिस्तानलाई पराजित गरेको नेपालले त्यसयता विश्वकपमा जितको स्वाद चाख्न सकेको छैन। ठीक १२ वर्षपछि फेरि एकपटक विश्वकपमा जित निकाल्ने अवसर नेपालसामु आएको छ।
भारत र श्रीलंकामा संयुक्त रूपमा जारी टी-२० विश्वकपमा नेपालले पहिलो खेलमा दुई पटकको विश्वविजेता इंग्ल्याण्डसँग ४ रनको झिनो अन्तरले पराजय भोगे पनि प्रदर्शनले विश्व क्रिकेटको ध्यान खिच्न सफल भयो। कठिन दबाबका बीच पनि नेपाली टोलीले देखाएको साहसिक खेलले समर्थकमा नयाँ आशा जगाएको छ।
अब समूह ‘सी’ अन्तर्गत नेपालले दोस्रो खेल इटलीसँग खेल्दैछ। तुलनात्मक रूपमा वरियतामा पुछारतिर रहेको (२७औँ स्थान) इटलीका लागि यो डेब्यु विश्वकप हो। पहिलो खेलमा स्कटल्याण्डसँग पराजित इटलीविरुद्ध नेपाल स्पष्ट रूपमा जितको लक्ष्यसहित मैदान उत्रनेछ।
२०१४ को स्मरणीय यात्रा
नेपालले सन् २०१४ मा चितागोङस्थित जहुर अहमद चौधरी स्टेडियममा हङकङलाई ८० रनले हराउँदै विश्वकप डेब्यु शानदार बनाएको थियो। त्यसपछि अफगानिस्तानलाई ९ रनले हराउँदै पहिलो सहभागितामै दुई जित दर्ता गरेको थियो। यद्यपि नेट रनरेटका आधारमा सुपर १२ मा पुग्न नसके पनि त्यो प्रदर्शनले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनायो। त्यसयता नेपाल दुई पटक विश्वकपमा छनोट भयो। सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा भने चारमध्ये तीन खेलमा हार व्यहोर्दा एक खेल वर्षाले प्रभावित भएको थियो।
कप्तानको आत्मविश्वास
इंग्ल्याण्डसँगको खेलपछि आयोजित प्रि-म्याच कन्फरेन्समा कप्तान रोहित पौडेलले पहिलो खेलबाट दबाब व्यवस्थापन र कठिन अवस्थामा निर्णय लिन सिकेको बताए। “हामीले उत्कृष्ट क्रिकेट खेलेका छौं। यही लय कायम राख्न सके इटलीविरुद्ध राम्रो नतिजा आउनेमा विश्वस्त छौं,” उनले भने। वानखेडे स्टेडियममा नै समूहका सबै खेल खेल्ने नेपाललाई घरेलु मैदानझैँ समर्थन मिल्ने अपेक्षा गरिएको छ। विश्वका जुनसुकै कुनामा खेल्दा पनि नेपाली समर्थकको बाक्लो उपस्थिति रहने गरेको छ।
इटलीसँग १३ वर्षअघिको भेट
नेपाल र इटलीबीच टी-२० अन्तर्राष्ट्रियमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। तर ५० ओभरको क्रिकेटमा भने दुई टोलीबीच १३ वर्षअघि भेट भएको थियो। आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन-३ अन्तर्गत बर्मुडामा भएको खेलमा नेपालले १२८ रनको लक्ष्य १४।५ ओभरमै २ विकेट गुमाएर पूरा गर्दै ८ विकेटको सहज जित निकालेको थियो। त्यस प्रतियोगितालाई ‘मिराकल अफ बर्मुडा’का रूपमा स्मरण गरिन्छ, जहाँ सुरुवाती दुई हारपछि नेपालले सानदार पुनरागमन गर्दै उपाधि जितेको थियो।
नयाँ इतिहासको संघारमा
१२ वर्षअघिको त्यो आत्मविश्वास र जुझारुपनलाई पुनः दोहोर्याउने लक्ष्यसहित नेपाल इटलीविरुद्ध मैदान उत्रनेछ। इंग्ल्याण्डविरुद्ध देखिएको लय कायम राख्न सके नेपालले विश्वकपमा लामो समयदेखि खड्किरहेको जितको खडेरी अन्त्य गर्न सक्छ।
वानखेडेको मैदानमा बिहीबार नेपालका लागि केवल अर्को खेल मात्र होइन, १२ वर्षको प्रतीक्षाको अन्त्य गर्ने अवसर पनि हुनेछ।