काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ‘तारा’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएको पार्टीले ‘सुशासन र रोजगारी समाजवाद’ तथा ‘राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ नाराका साथ आगामी पाँच वर्षमा देशलाई स्वाधीन र समृद्ध बनाउने योजना प्रस्तुत गरेको छ।
प्रतिवद्धता पत्र अनुसार पार्टीले राजनीतिक स्थिरता कायम राख्दै शासकीय स्वरूपमा आमूल परिवर्तन गर्ने योजना अघि सारेको छ। यसअन्तर्गत सानो मन्त्रिपरिषद् गठन, सांसदहरूलाई विधायकी भूमिकामा मात्र सीमित राख्ने र अधिकार सन्तुलन सुनिश्चित गर्ने प्रावधान समावेश गरिएको छ।
भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्ने, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने, ‘लोकपाल’ मार्फत अख्तियार र शतर्कता केन्द्र एकीकरण गर्ने तथा सरकारी सेवालाई डिजिटल, फेसलेस र पेपरलेस बनाउने प्रतिबद्धता गरिएको छ।
आर्थिक क्षेत्रमा पार्टीले आगामी पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने, ५ लाख रोजगारी सिर्जना गर्ने र १ लाख युवालाई उद्यमी बनाउने लक्ष्य लिएको छ। कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न प्रमुख खाद्यान्नमा उत्पादन वृद्धि, भूमिहीनलाई लालपुर्जा वितरण, किसान पेन्सन र बीमा सुनिश्चित गर्ने योजना समावेश छ।
शिक्षा, स्वास्थ्य र खेलकुदलाई प्राथमिकता दिँदै निःशुल्क स्वास्थ्य सेवा, प्रत्येक पालिकामा स्मार्ट विद्यालय, विश्वविद्यालयमा योग्यताका आधारमा नियुक्ति र खेलाडीको पुरस्कार दोब्बर गर्ने नीति लिइएको छ।
पूर्वाधार विकासमा १५ हजार मेगावाट विद्युत् उत्पादन, पूर्व–पश्चिम राजमार्ग चार लेन, काठमाडौं मेट्रो रेल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पाँच वर्षभित्र सम्पन्न गर्ने योजना छ। सामाजिक न्याय, समावेशिता र परराष्ट्र नीति मजबुत बनाउने प्रतिबद्धता पनि पत्रमा उल्लेख छ।
पार्टीले आफ्नो घोषणापत्र मार्फत समृद्धि, सुशासन र समानुपातिक विकास सुनिश्चित गर्ने दाबी गरेको छ।