काठमाडौं । नेपाली सेनाद्वारा आयोजना गरिएको यस वर्षको ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’ आज सम्पन्न भएको छ। नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजनामा सैनिक मुख्यालयमा आयोजित प्रतियोगिताको उद्घाटन प्रधानसेनापति अशोकराज सिग्देलले गरेका थिए।
यस वर्ष प्रतियोगिताका लागि ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारा तय गरिएको थियो। प्रतियोगिताअन्तर्गत ४२.१९५ किमी दूरीको पुरुष म्याराथन तथा महिला र पुरुष विधामा २१ किमी दूरीको हाफ म्याराथन सम्पन्न भयो।
म्याराथनतर्फ प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ। यस्तै, हाफ म्याराथनतर्फ महिला र पुरुष दुवै विधामा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई जनही क्रमशः एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिताअन्तर्गत सैनिक अधिकृत, सैनिक सहचारी, सैनिक महाविद्यालयमा कार्यरत कर्मचारी, सेनाका सेवारत तथा अवकाश प्राप्त सकल दर्जा र गैरसैनिकतर्फ कक्षा १० देखि १२ सम्म अध्ययनरत सन्तानको सहभागितामा १० किमी दूरीको दौड आयोजना गरिएको थियो। त्यस्तै, पाँच किमी दूरीको वाकाथनमा प्रधानसेनापति सिग्देलसहित सैनिक तथा गैरसैनिक व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सैनिक महाविद्यालयमा अध्ययनरत कक्षा ७ देखि ९ सम्मका छात्रछात्राले पनि पाँच किमी दूरीको दौड पूरा गरेका थिए।
दश किमी र पाँच किमी दौडतर्फ महिला र पुरुष दुवै विधामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
वि.सं. २०७२ देखि प्रत्येक वर्ष महाशिवरात्री तथा सेना दिवसको अवसरमा आयोजना हुँदै आएको यस ११औँ संस्करणको प्रतियोगितामा पाँच विधामार्फत करिब २,५०० धावक सहभागी भएका थिए। यस वर्ष महाशिवरात्री तथा सेना दिवस फागुन ३ गते परेको छ।