काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनअघि पार्टीको १५औं महाधिवेशन सम्पन्न हुने बताएका छन्।
शनिबार काठमाडौं-४ मा आयोजित चुनाव लक्षित कार्यक्रममा बोल्दै थापाले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवार ‘प्राइमरी इलेक्सन’मार्फत वडास्तरबाटै चयन गरिने स्पष्ट पारे। ‘अब नयाँ स्थानीय चुनावभन्दा र नयाँ प्रदेशसभा चुनावभन्दा अगाडि पार्टीको अधिवेशन भइसक्छ,’ सभापति थापाले भने, ‘नयाँ अधिवेशनपछि कांग्रेसमा उम्मेदवारको टिकट प्राइमरीमार्फत वडाका साथीहरूले नै छान्नुहुन्छ।’
थापाले अब पार्टीभित्र उम्मेदवारको टिकट लिन सभापति वा महामन्त्रीको घर धाउनुपर्ने परम्पराको अन्त्य भएको दाबी गरे। ‘अब कसैले पनि पार्टी सभापतिको घर धाउनु पर्दैन, महामन्त्रीको घर धाउनु पर्दैन,’ उनले भने।
कांग्रेसभित्र लामो समयदेखि चल्दै आएको गुटबन्दी र ६०-४० को भागबण्डा प्रणाली पनि अन्त्य भएको दाबी गर्दै थापाले पार्टी अब समान व्यवहार र विधिमा आधारित भएर अघि बढ्ने बताए। ‘अब यो पार्टीमा कुनै गुट छैन, हिजोको जस्तो ६०-४० पनि सकियो,’ उनले भने, ‘कांग्रेसले न पार्टीभित्र भागबण्डा गर्छ, न बाहिर।’
पार्टीभित्र नागरिक र कार्यकर्तालाई बलियो बनाउने अभियान सुरु भएको उल्लेख गर्दै थापाले नेतृत्व तहमा कुनै पनि किसिमका अप्राकृतिक वा अपारदर्शी सम्बन्ध नहुनेमा जोड दिए। ‘यो बदलिएको कांग्रेस हो। पार्टी सभापतिको अध्याँरो कोठामा अब कसैसँग पनि अप्राकृतिक सम्बन्ध हुँदैन,’ उनले स्पष्ट पारे।