काठमाडौं । नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझावमा आधारित संकल्पपत्र तयार पार्ने उद्देश्यसहित नयाँ अभियान सुरु गरेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार चौधरीले परम्परागत रूपमा बन्द कोठामा घोषणापत्र बनाउने अभ्यासको सट्टा आम मतदाताका वास्तविक समस्या, माग र प्राथमिकता संकलन गर्न अनलाइन फारम सार्वजनिक गरेका हुन्। उनले आफ्नो व्यक्तिगत वेबसाइटमार्फत फारम उपलब्ध गराउँदै केही समय निकालेर सुझाव दिन सबै नागरिकलाई अपिल गरेका छन्।
चौधरीका अनुसार यो अभियानले राजनीतिमा जनताको भूमिकालाई केवल मतदानमा सीमित नराखी नीति निर्माणको तहसम्म विस्तार गर्ने लक्ष्य राखेको छ। “कुनै पनि ठूलो योजना सफल बनाउन सही व्यवस्थापन र सबैको सहकार्य आवश्यक हुन्छ,” उनले लेखेका छन्, “त्यसैले चुनावी संकल्पपत्र बन्द कोठामा बसेर होइन, तपाईंहरूको माझमा आएर लेख्न चाहन्छु।” उनले बर्दघाटको सडकदेखि सुस्ताको पुलसम्म, गण्डक नहरदेखि दाउन्नेको फेदीसम्म, किसानको खेतदेखि बजारसम्मका समस्या आफ्ना प्राथमिकतामा रहने उल्लेख गरेका छन्। साथै गुणस्तरीय शिक्षा, युवा रोजगारी, र जेन-जीदेखि जेन-एक्ससम्मका आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।
नवलपरासीको विकासका लागि दलको मात्र नभई सबै नागरिकको सहभागितामा तयार हुने ‘साझा संकल्पपत्र’ आवश्यक रहेको चौधरीको भनाइ छ। उनले भोटले सरकार बने पनि समाज निर्माणका लागि नागरिकको सुझाव अपरिहार्य हुने बताए।
गाउँ र टोलका समस्या स्थानीय बासिन्दालाई नै राम्रोसँग थाहा हुने भएकाले विकासका योजनामा सबैको सहकार्य जरुरी रहेको उल्लेख गर्दै चौधरीले यो अभियानलाई सहभागितामूलक राजनीतितर्फको महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरेका छन्।