काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएका बन्दसूचीसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ ।
आयोगको तथ्याङ्क शाखाका निर्देशक पूर्णबहादुर घर्ती मगरका अनुसार पुस १६ गतेदेखि आजसम्म दलहरूको बन्दसूचीमा रहेका कागजातको जाँच गरिएको हो ।
रुजु गर्ने क्रममा देखिएका कैफियतहरू छुट्याएर सम्बन्धित राजनीतिक दललाई आजै बेलुकासम्म पत्रमार्फत जानकारी गराइने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कागजात नपुगेका, उमेर नपुगेका लगायतका सबै त्रुटि छुट्याएर दलहरूलाई सच्याउन पठाइने छ ।
भोलिदेखि यही पुस २७ गतेसम्म दलहरूले त्रुटि सच्याएर पुनः बन्दसूची पेश गर्न पाउनेछन् ।
अन्तिम सूची सार्वजनिक हुनुअघि सम्बन्धित उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन सक्ने उहाँले बताउनुभयो ।
समानुपातिक सूचीमा रहन नचाहने उम्मेदवारहरूले २८ गते उम्मेदवारी फिर्ता लिन पाउनेछन् । त्यसको जानकारी पनि आयोगले सम्बन्धित दललाई दिनेछ ।
दलबाट प्राप्त अन्तिम विवरणका आधारमा खाली ठाउँमा नयाँ उम्मेदवार सिफारिश गरेपछि तयार हुने अन्तिम बन्दसूचीलाई निर्वाचन आयोगले सार्वजनिक गर्ने तथ्याङ्क शाखाका निर्देशक मगरले जानकारी दिनुभयो ।
आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य चुनाव आउन अब ६० दिन बाँकी छ । संसद् पुनस्र्थापनासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सुनुवाइकै क्रममा रहेको र मुख्य दलहरूमा चुनाव हुने÷नहुनेबारेको आशङ्काकै बीच चुनावका कामहरू तीव्र रूपमा भइरहेका छन् ।
सबै दलसहितका ६४ वटा राजनीतिक दलले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन् । आयोगले माघ ६ गते गर्ने प्रत्यक्षतर्फका उम्मेदवारहरूको मनोनयन दर्ताका लागि गर्नुपर्ने काम समय अनुसार भइरहेका जनाएको छ । दलहरूले पनि निर्वाचन क्षेत्रबाट सिफारिशको काम गरिरहेका छन् ।