काठमाडौं । नेपाली कांग्रेसमा दुई दिन यताको रस्साकस्सीले आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।
नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने सन्दर्भमा चर्किएको विवादले पार्टी नै विभाजन हुने खतरा बढाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो बसेको कार्यसम्पादन समिति बैठकले आगामी वैशाख २८ देखि ३१ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्ने निर्णय बहुमतले पारित गरेको छ ।
निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५ जनाले फरक मत राखेका छन् । फरक मत राख्नेमा सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा कार्यसम्पादन समिति सदस्यद्वय अर्जुननरसिंह केसी र उमा रेग्मी छन् ।
बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्नेगरी राखेको कार्यतालिका पारित हुँदा आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताले फरक मत राखेको महामन्त्री थापाले बैठकपछि जानकारी दिए । बैठकमा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति म्याद आगामी जेठ मसान्तसम्म थपिएको छ ।
यसैबीच महामन्त्री थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन गरिछाड्ने बताउँदै देशभरका महाधिवेशन प्रतिनिधिलाई काठमाडौँ आउन आह्वान गरेका छन् । यद्यपि विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुने कि नगरी हुने भन्ने एक दुई दिनमा टुङ्गो लाग्ने महामन्त्री थापाले बताए ।
यसैबीच, महामन्त्री शर्माले पार्टी विभाजित नहुने भन्दै पार्टी फुट्छ कि भनेर आशङ्का नगर्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । पार्टी फुट्न नदिन र अहिलेको समस्या समाधान गर्नका लागि उहाँँले तीनवटा विकल्प अघि सारेका छन् । विधानअनुसार अघि बढ्दा पार्टी नफुट्ने उनको भनाई छ ।
कांग्रेसका २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए । पार्टी विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेको ३ महिनामा विशेष महाधिवेशन गर्नैपर्ने व्यवस्था छ । त्यही व्यवस्था अनुसार पुस मसान्तसम्म विशेष महाधिवेशन बोलाइछाड्ने महामन्त्री शर्माले बताएका हुन् ।
तर संस्थापन पक्ष भने नियमित महाधिवेशनको कार्यतालिका आएको मंसिर १५ गते नै विशेष महाधिवेशनको औचित्य सकिएको बताउँछन् । दुवै पक्ष आ–आफ्नै अडानमा रहँदै त्यही अनुसारको तयारीमा लागेपछि पार्टीमा विभाजनको रेखा कोरिएको छ ।