काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव अगाडि महाधिवेशन गर्दा पार्टीमा हुने प्रतिस्पर्धाको असर निर्वाचनमा पर्न सक्ने बताएका छन् ।
आफूले यस्तो सुझाव पार्टीका नेताहरूलाई दिए पनि अगाडि नै गर्ने भए आफू बाधक नबन्नेसमेत उनको भनाई छ ।
मंगलबार केही पत्रकारहरूसँग भेटघाट गरेका देउवाले आफू भने १५ औं महाधिवेशनको प्रतिस्पर्धी नभएकाले तटस्थ रहने बताए । देउवाले १५औं महाधिवेशनमा विधानत आफू सभापतिको उम्मेदवार बन्न नमिल्ने र आफ्नो इच्छा पनि नभएकाले अरुलाई प्रोत्साहन मात्र गर्ने बताए ।
विशेष महाधिवेशन भने नहुने उनको भनाई छ ।
गगन र विश्वले विशेष महाधिवेशन पक्षधरहरूको भेला बोलाउने
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पक्षधरहरूको राष्ट्रिय भेला बोलाउने तयारी गरेका छन् ।
महामन्त्रीद्वयले केही दिनमै काठमाडौंमा विशेष महाधिवेशन पक्षधरको भेला बोलाउने तयारी गरेका हुन् ।
निकट स्रोतका अनुसार पुसको १९, २० वा २१ गतेका लागि भेला बोलाउने तयारी भइरहेको छ । महामन्त्रीनिकट एक नेताका अनुसार महामन्त्रीद्वयले औपचारिक पत्र नै काटेर विशेष महाधिवेशनको भेला बोलाउने सहमति बनिसकेको छ ।
महामन्त्री थापा पक्षधरहरूले हस्ताक्षरकर्ताहरूले नै विशेष महाधिवेशन बोलाउनेबारे कानुनविद्हरूसँग नियमित परामर्श पनि गरिरहेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामै भेला बोलाउने तयारी भइरहेको हो ।