काठमाडौं । सरकारले चुनावको वातावरण बनाउन सक्रियता बढाएको छ ।
राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रमुख तीन दलका शीर्ष नेतासँग संवाद र छलफल गरेका छन् । शुक्रबार प्रमुख तीन दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेट गरि उनले सरकारबाट चुनावलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने प्रतिबद्धता जनाएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास भक्तपुरको गुण्डु पुगेर मन्त्री खरेलले भेट गरे । भेटमा आउँदो चुनाव, चुनावका लागि बनिरहेको वातावरण तथा राजनीतिक सहमतिको विषयमा छलफल भएको छ । एमालेले चुनावका लागि सहभागी हुने वातावरण बनेको खण्डमा भाग लिने बताएको छ । ओलीसँगको भेटपछि सञ्चारमन्त्री खरेलले चुनावको वातावरण बनिसकेकोले एमाले पनि चुनावका लागि तयारीमा रहेको बुझिएको बताए ।
सरकारले आफूलाई स्थानहद कायम राखेको विषयमा एमालेका अध्यक्ष ओलीले व्यक्त गरेको चासोमा मन्त्री खरेलले केही अल्झनहरू देखिएको अवस्थामा त्यसलाई सहज बनाउन सकिने जवाफ दिएका छन् ।

ओलीसँगको भेटलगत्तै मन्त्री खरेलले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट गरे । प्रचण्ड निवास ललितपुरको हात्तीवनमा भएको भेटमा पनि चुनाव र समसामयिक विषयमा छलफल भएको छ ।

यसअघि शुक्रबारै बिहान सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । भेटमा सभापति देउवाले आफ्नो पार्टीको पहिलो प्राथमिकता चुनाव नै रहेको बताए । कांग्रेसले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा भाग लिने निर्णयसँगै आवश्यक तयारीमा पनि जुटिसकेको देउवाले बताए ।

देउवा निवास महाराजगञ्जमा भएको भेटमा सभापति देउवाले स्वतन्त्र एवम् निष्पक्ष रूपमा चुनाव सम्पन्न गर्न सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव समेत दिएका मन्त्री खरेलले जानकारी दिएका छन् ।