काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइसहित तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका कुलमान घिसिङले सय दिनका उपलब्धि सार्वजनिक गरेका छन् । जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा मन्त्री बनेका घिसिङले बुधबार पत्रकार सम्मेलनमार्फत प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
एक सय एक बुँदामा रहेको प्रगति विवरणमा लामो समयदेखि पहिरोका कारण अवरुद्ध बनेको तातोपानी नाका खुलाउनेदेखि १४ वर्षसम्म काम नभइ रुग्ण बनेको झापाको कन्काई पुलको ठेक्का तोड्ने कामसमेत रहेका छन् ।आयोजनाहरूको स्थलगत निरीक्षण, सरोकारवालासँग प्रत्यक्ष संवाद र प्रशासनिक समीक्षा गर्दा ढिलाइ, लापर्बाही, बहाना र जिम्मेवारीबाट भाग्ने प्रवृत्तिले विकासलाई बन्धक बनाएको पाएको उनले बताए ।
घिसिङका अनुसार सडक विभाग अन्तर्गत ४० वटा रुग्ण आयोजनाका ठेक्का तोडिएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतका चार र राष्ट्रिय गौरवको सुनकोशी मरिन बहुउद्देश्यीय आयोजनासहित जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गतका २२ गरी कुल ६६ वटा रुग्ण ठेक्का तोडिएका छन् ।
रणनीतिक महत्त्वको एक हजार दुई सय मेगावाटको बूढीगण्डकी र एक हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमै निर्माण गर्ने गरी वित्तीय ढाँचा तयार पारेर सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको उनले जानकारी दिए । यस्तै डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता महसुल उठाउने विषयमा रहेको राजनीतिक हस्तक्षेप र अन्योल अन्त्य गरिएको मन्त्री घिसिङको दाबी छ ।
सम्पत्ति विवरण बुझाइसकेका छौं, सार्वजनिक गर्ने विषय प्रधानमन्त्री कार्यालयको हो
मन्त्री घिसिङले आफूले सम्पत्ति विवरण क्याबिनेटमा बुझाइसकेको बताएका छन् ।
मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रीहरूले सय दिन बितिसक्दा पनि सम्पत्ति विवरण किन सार्वजनिक भएन भनेर पत्रकारले सोधेको प्रश्नमा घिसिङले मन्त्री भएपछि दुई महिनाभित्र क्याबिनेटमा सम्पत्ति विवरण पेस गरेको तर सरकारले सार्वजनिक नगरेको बताए ।
सम्पत्ति विवरण सार्वजनिक किन नभएको भन्ने प्रश्नको स्पष्ट उत्तर नदिएका मन्त्री घिसिङले सुशासनका विषयमा भने आफूहरू कटिबद्ध रहेको तर्क तर्क गरेका छन् ।
पत्रकारहरूसँगको प्रश्नोत्तरमा उहाँले अहिलेको सरकारको मुख्य कार्यभार चुनाव सम्पन्न गर्नु रहेको बताउँदै नयाँ शक्तिहरू मिलेर जानुपर्छ भन्नेमा आफू एकमत रहेको उनले बताए ।