काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले चीन नेपालका लागि एक असल छिमेकीमात्र नभई महत्वपूर्ण व्यापारिक साझेदार, लगानीकर्ता तथा विश्वसनीय विकास साझेदारका रूपमा उभिएको बताएका छन् ।
मिडिया ग्रुपद्वारा विहीबार आयोजित ‘नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० वर्षः सम्झना र समीक्षा’ कार्यक्रमलाई सम्बोधन गर्दैै अध्यक्ष दाहालले नेपाल-चीन सम्बन्ध आपसी विश्वास, सम्मान र सहकार्यमा आधारित रहेको उल्लेख गरे ।
नेपालको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताप्रति चीनले सदैव समर्थन गर्दै आएको र नेपालले पनि एक चीन नीतिलाई व्यवहारमा दृढतापूर्वक लागू गर्दै आएको उनले स्पष्ट पारे ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न सफल भएको उत्तरी छिमेकी चीनले गरिवी निवारणमा प्राप्त गरेको सफलता र अनुभव नेपाल लगायतका अन्य धेरै देशहरुका लागि पनि महत्वपूर्ण छ।
अध्यक्ष दाहालले भने, “सन् १९५५ अगस्ट १ का दिन नेपाल र चीनबीचको दौत्य सम्बन्ध भएदेखिका ७० वर्षको अवधि हेर्दा कूटनीतिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक क्षेत्रमा कुनै अप्ठ्यारो नपरी हामीले सहज यात्रा पूरा गरेका छौँ। कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवको अवसरमा सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।”
व्यापार, पूर्वाधार विकास, ऊर्जा, पर्यटन, कृषि, स्वास्थ्य, खेलकुद, शिक्षा तथा जनस्तरको सम्बन्धजस्ता विभिन्न क्षेत्रमा चीनको सहयोग र साझेदारीका कारण नेपालले उल्लेखनीय प्रगति हासिल गरेको तथा विशेषगरी सडक, पुल, जलविद्युत्, औद्योगिक विकास तथा पर्यटन पूर्वाधार निर्माणमा चिनियाँ सहयोग महत्त्वपूर्ण रहेको अध्यक्ष दाहालले बताए ।
नेपालको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डतालाई चीनले सदैव समर्थन गर्दै आएको छ भने नेपालले पनि एक चीनको नीतिलाई व्यवहारमा लागू गरेको छ। क्षेत्रीय तथा विश्व शान्तिमा नेपाल र चीन दुवैले विश्व रंगमञ्चमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
“चिनियाँ राष्ट्रपति महामहिम सि चिनफिङको कुशल र दुरदर्शी नेतृत्वका कारण चीनले आफूले मात्रै आर्थिक रुपमा प्रगति गरेको छैन, हामीजस्ता कम विकसित छिमेकी देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विकास र स्थिरताका लागि पनि उत्तिकै योगदान गरिरहेको छ। नेपालका लागि चीन विगतदेखि नै एक भरोसायोग्य छिमेकी राष्ट्रको रुपमा रहेको यथार्थता हो।” अध्यक्ष दाहालले भने, । नेपाल र चीनबीचको साझेदारी शान्ति, विकास र समृद्धिको साझा लक्ष्यतर्फ केन्द्रित रहेको पनि दाहालले बताए ।
कार्यक्रममा नेपाल-चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा रे मिडिया ग्रुपद्वारा प्रकाशित ‘अजम्बरी साइनो’ पुस्तकको पनि लोकार्पण गरिएको थियो । उक्त पुस्तकमा नेपाल-चीन सम्बन्धका ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था, कूटनीतिक विकासक्रम तथा भविष्यमा सम्बन्धलाई अझ सुदृढ र प्रभावकारी बनाउने उपायसम्बन्धी सामग्री समेटिएको छ ।
सहभागीहरूले नेपाल-चीन सम्बन्ध आपसी सम्मान र सहकार्यको उत्कृष्ट उदाहरण रहेको भन्दै आगामी दिनमा यो सम्बन्ध अझ गहिरो र बहुआयामिक बन्दै जाने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा रे मिडिया ग्रुप र सिजिटिएन नेपाली सेवाले निर्माण गरेका डकुमेन्ट्री साथै रे टेलिभिजनका विविध गतिविधिहरुको जानकारी मुलक भिडियोहरु समेत प्रदर्शन गरिएको थियो । सो समारोहमा नेपालस्थित चिनियाँ राजदूतावासका पदाधिकारीहरु, नेपाल-चीन मैत्री संस्थासँग आवद्ध व्यक्तित्वहरु, सीआरआई श्रोता क्लवहरुको राष्ट्रिय परिषद नेपालका पदाधिकारीहरु, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
-1766311138.jpg)