काठमाडौ । नेपाल परिवार दलले नेपाली जनताको ठूलो त्याग र बलिदानी मार्फत जननिर्वाचित प्रतिनिधिहरुद्वारा लिखित नेपालको संविधानको परिधि भित्रै रही नै सबैखाले विभेद, भ्रष्टाचार, विकृति, विसंगतिको अन्त्य गर्दै एक सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गर्न सकिने बताएको छ ।
संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै दलले नेपाली जनताको संघर्ष र बलिदानको फलस्वरूप वि.सं.२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधाने परिधि भित्र रही सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता नेपाली जनताले प्राप्त गरेका उपलब्धि थप संस्थागत गनुपर्ने आवश्यकता रहेको बताएको छ ।
शुभकामना सन्देशमा भनिएको छ, ‘संविधानको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न सकिने हाम्रो बुझाई रहेको छ । र संविधान एक गतिशील दस्तावेज भएकोले कतिपय असन्तुष्टिहरुलाई आबस्यकता अनुसार लोकतान्त्रिक विधि र पद्धति मार्फत समयानुकुल थप परिष्कृत गर्न सकिनेतर्फ सबै पक्षको ध्यानाकर्षण पनि गर्दछौं ।’
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न हामी सबैलाई संविधान दिवसले एकजुट हुन प्रेरणा दिनेछ भन्ने अपेक्षा लिएको समेत सन्देश मार्फत जनाइएको छ ।
सन्देशमा भनिएको छ, ‘नेपालको दिगो शान्ति र संमृद्धिको मार्ग भनेको राष्ट्रिय मेलमिलाप, सामाजिक सदभाव र एकता नै हो । हिमाल, पहाड र तराई मधेशको भौगोलिक संरचनामा आधारित हाम्रो बहुजाति, बहुभाषी एवम् बहुसंस्कृतिलाई हाम्रो संविधानले समान संरक्षण प्रदान गरेको छ । यस्तो अवस्थामा नेपालीहरूबीच रहेको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुनु हुँदैन ।’
‘संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाल परिवार दल हार्दिक शुभकामना व्यक्त गर्दछ’ सन्देशमा भनिएको छ, ‘यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ विभिन्न आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञात(अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । हामी विभिन्न समयमा सम्पन्न नेपालको लोकतान्त्रिक आन्दोलनमा सहभागी भई योगदान गर्नुहुने आम नागरिक, सम्पूर्ण राजनैतिक दल, नागरिक समाज, युवा, संचार क्षेत्र लगायतको योगदानको उच्च प्रशंसा गर्दछौं ।’
नेपाल परिवार दल आफ्नो स्थापना कालदेखिनै ूनेपाल एक घर र सम्पूर्ण नेपाली एक परिवारू भन्ने मान्यता अनुरुप अघि बढ्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि राष्ट्र, राष्ट्रियता र जनतालाई केन्द्रमा राखी आफ्ना शान्तिपूर्ण क्रियाकलाप लोकतान्त्रिक पद्दति अनुसार जनसेवामा समर्पित हुने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।