काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले ‘जेन जी स्मृति पार्क’ बनाउने सरकारको निर्णय राम्रो भएपनि डिजी पार्क बनाउँदा उत्तम हुने बताएका छन् ।
उनले ‘जेन जी’ भन्ने नामावली आगजनी तोडफोड र विध्वंशले बदनाम भएकोले सो भन्दा ‘डीजी’ अर्थात् डिजिटल जेनरेशनको नाममा पार्क बनाउँदा राम्रो हुने सुझाव दिएका हुन् ।
बस्नेतले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रश्न गरेका छन्, ‘अनि यो आन्दोलनकै क्रममा मारिएका प्रहरीहरूको स्मृति पार्क बनाउने हो कि होइन ?’
उनले जेन जी तर्फ मारिएका व्यक्तिलाई १५ लाख दिने र ‘शहीद’ घोषणा गर्ने निर्णय आफैमा राम्रो कदम भएको बताउँदै आन्दोलनकै क्रममा मारिएका अन्यको हकमा के गर्ने ? सोही क्रममा ज्यान गुमाएका प्रहरीमाथि त्यही निर्णय लागू हुन्छ कि हुँदैन भनी प्रश्न समेत गरेका छन् ।
बस्नेतले एउटै घटनामा मारिएका सबैलाई समान दृष्टिले हेरेर राज्यले प्रहरीको मनोबल बढाउने कार्य तत्काल गर्नु जरुरी भएको बताएका छन् ।
राज्यले सबैलाई समान व्यवहार गर्नुपर्ने बताउँदै बस्नेतले कदाचित चोर्न, लुट्न र मान्छे मार्न गएका आन्दोलनकारीले १५ लाख पाउने, तर राष्ट्र र नागरिकको सुरक्षार्थ खटिएका प्रहरीहरूले उचित सम्मान र राहत नपाउने अवस्था सिर्जना भएमा यसले भविष्यमा अर्को किसिमको द्वन्द्व निम्त्याउन सक्नेमा सचेत गराएका छन् ।
बस्नेतले नेपाल प्रहरीले प्रहरी निरीक्षकदेखि माथिका पदमा रहेका सम्पूर्ण अधिकृतहरूको तलबबाट कटौती गरेर मृत प्रहरीका परिवारलाई १० लाख राहत दिने निर्णय सह्रानीय कदम भएको बताएका छन् । यस्ता कदमले प्रहरी संगठनभित्रको एकता झन् बलियो बनाएको बस्नेतले बताएका छन् ।