काठमाडौं । नेकपा एमालेमा महासचिव शंकर पोखरेलले मुलुकलाई संविधान फर्काउन अबिलम्ब तोकिएकै समयमा निर्वाचन गर्नु आवश्यक रहेको बताएका छन् ।
सोमबार पार्टी मुख्यालय च्यासलमा जलेको संरचना निरीक्षण पश्चात सम्बोधन गर्दै पोखरेलले जेन जी आन्दोलनका नाममा भएको आगजनी र हिंसात्मक गतिविधिले आफूलाई दुःखी बनाएको बताए ।
सम्बोधनका क्रममा उनले भने, ‘लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका राजनीतिक दलहरू, तिनका नेताहरूका निजी भवनहरू जलाउने काम त भयो नै, सँगसँगै हाम्रा शताब्दीयौ पुराना सम्पदाहरू सिंहदरबार, शीतल निवास लगायतका सम्पदाहरू जलाउने खालको काम भयो । राष्ट्रको सुरक्षा अंग का रूपमा रहेको नेपाल प्रहरीका प्रायः सबै संरचनाहरू जलाउने काम भयो । केन्द्रीय कार्यालय बाहेक प्रायः सबै नेपाल प्रहरीका संरचनाहरू ध्वस्त बनाउने काम भयो ।’
पोखरेलले लामो बलिदानी पूर्ण संघर्षबाट स्थापित गरेको सिंहदरबारको अधिकार जनताका बीचमा पुर्याउने मान्यता स्वरूप बनेका स्थानीय सरकारका वडा तहसम्मका कार्यालयहरू पनि तोडफोड गरिएका छन्, आगजनी गरिएकाको प्रति चिन्ता व्यक्त गरे ।
उनले भने, ‘सबैभन्दा ठूलो कुरा त, नेपालमा भर्खरै मात्रै फस्टाउँदै गरेको एक प्रकारले आधुनिक व्यवसाय, आधुनिक होटल व्यवसाय र व्यापारका क्षेत्रमा भाटभटेनीले एउटा मानक स्थापित गरेको थियो । वास्तवमा नेपाल जस्तो मुलुकमा पनि यस प्रकारको व्यवसाय सम्भव छ भन्ने कुराको दृष्टान्त प्रस्तुत गरेको थियो । त्यति मात्रै होइन आफूले आर्जन गरेको आयलाई समाजसेवामा प्रस्तुत गर्ने एउटा दृष्टान्त प्रस्तुत गरेको व्यवसायीको व्यवसाय माथि जुन प्रकारले हमला गर्ने काम भयो, अत्यन्त दुःखद भयो ।’
पोखरेलले नेपालको इतिहासमा २४ गतेको घटना यो भन्दा ज्यादा विनाशकारी दिन अहिलेसम्म नघटेको बताए ।
युवाहरूको आकांक्षा मुलुकमा सुशासन कायम होस्, सेवा प्रवाहमा प्रभावकारिता आओस्, विकासले गति लिओस् भन्ने जायज अपेक्षा भएको बताउँदै पोखरेलले आफूले २०, २१ र २२ गतेका दिन पार्टीको दोस्रो विधान महाधिवेशनमा छलफल गरेर युवाहरूमा हुर्कंदै गरेको असन्तुष्टि र उनीहरूको आकांक्षालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा लामो छलफल गरेर निर्णायक शक्ति निर्माणको २१ बुँदे कार्ययोजना हामीले तयार गरेको बताए ।
एउटा युगले ल्याएको परिवर्तनलाई संविधानमा संश्लेषण गरिसकेपछि परिवर्तनको आधार संविधानलाई बनाउन नसक्ने हो भने मुलुक कहिले पनि विकास र समृद्धिको यात्रामा अगाडि बढ्न नसक्ने बताउँदै पोखरेलले समाधान सधै सडकबाट खोज्ने हो भने स्थायित्व र विकास सम्भव नहुने बताए ।