काठमाडौ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
पाँच दिने भ्रमणका लागि बुधबार नेपाल आएका उनले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सो अवसरमा प्रधानमन्त्री दाहालले हिमालयपार सम्पर्क सञ्जाल दुई देशका लागि महत्वपूर्ण भएको बताउँदै त्यसलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री दाहालले चिनियाँ सरकारको सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान प्रान्तबाट सिधा उडानको अपेक्षा गरेको बताए ।
नेपालले आसन्न विश्व जलवायु सम्मेलनमा जलवायु परिवर्तनका असरको विषयलाई मुख्य एजेण्डाका रुपमा उठाउने जानकारी दिँदै प्रधानमन्त्री दाहालले त्यसमा चीनजस्ता ठूला मुलुकले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । विश्वमञ्चमा जलवायु परिवर्तनले पारेको असरबारे नेपालले उठाएका विषयमा समर्थन गर्न पनि उनले आग्रह गरेका थिए ।
प्रधानमन्त्री दाहालले नेपाल र तिब्बतको सीमामा रहेका नाका सहजरुपमा सञ्चालन गर्न चीन सरकारले पहल लिएकामा धन्यवाद दिँदै मित्रराष्ट्र चीनबाट आगामी दिनमा थप सहजीकरणसहित सहयोग प्राप्त हुने अपेक्षा गरे ।
नेपालमा गएको भूकम्पका समयमा चीन सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भूकम्पको पूर्व सूचना संयन्त्र विकासमा पनि नेपालले अपेक्षा गरेको उल्लेख गरे । उनले ल्हासा–काठमाडौँ सिधा उडानको तयारीप्रति चीन सरकारलाई धन्यवाद व्यक्त गरेका थिए।
एक चीन नीति नेपालको राष्ट्रिय नीति भएको उहाँले स्पष्ट पारको थिए । त्यसैगरी प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि चिनफिङको नेतृत्वमा चीनले गरेको आर्थिक प्रगतिको सराहना गर्दै ‘बेल्ट एण्ड रोड’ इनिसियटिभ उहाँको दूरगामी प्रयास भएको बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनको अवस्थाबारे छलफल भएको बताइएको छ ।
उनले बुधबार नेपाल आएलगत्तै उपराष्ट्रपति रामयसहाय प्रसाद यादवलाई भेटेका थिए ।