काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकै ठूलो सङ्घर्ष र मेहनतपछि गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्दै उनले यो निकै ठूलो उपलब्धि भएको बताए ।
“नेपालको संविधानमा गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न मैले निकै ठूलो सङ्घर्ष र पहल गरेको छु, त्यसकै बलमा तपाईँहरूले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ”, उनले भने ।
आफ्नो नेतृत्वको नयाँ सरकारको आग्रहअनुसार राष्ट्रपतिबाट नागरिकता विधेयक सदर भएपछि उक्त विधेयक कानुनमा परिणत भएको र नियमावली बनेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने, “मलाई विश्वास छ, विदेशमा रहनुभएका लाखौँ गैरआवासीय नेपालीहरूले यो नागरिकता कसको सङ्घर्ष र पहलबाट प्राप्त भयो भन्ने तथ्य राम्रोसँग बुझ्नुभएको छ । सबै साथी र सम्पूर्ण नेपाली जनसमुदायलाई पनि त्यसरी नै बुझाउनु हुनेछ ।”
गैरआवासीय नेपालीसँग सम्बन्धित थुप्रै सवाललाई सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरिएको उल्लेख गर्दै उनले विदेशी लगानीको न्यूनतम सीमा रु पाँच करोडबाट घटाएर रु दुई करोड कायम गरिएको बताए ।
संसारभरि रहेका नेपाली नेपालका गैरआवासीय दूत भएको उल्लेख गर्दै उनले नेपालले गैरआवासीय नेपालीबाट धेरै अपेक्षा गरेको बताए । सरकारले सङ्घको स्थापनाकालदेखि नै सहकार्य गर्दै आएको जनाउँदै उनले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा गैरआवासीय नेपाली लक्षित विभिन्न कार्यक्रम घोषणा गरिएको बताए ।
सङ्घका कार्यकारी अध्यक्ष बद्री केसीले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेसँगै ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने अभियान सार्थक भएको बताए । गैरआवासीय नेपालीको चाहनालाई सरकारले सम्बोधन गरेको उल्लेख गर्दै उनले सरकार र सम्पूर्ण राजनीतिक दलप्रति आभार प्रकट गरे ।
अध्यक्ष कुल आचार्यले मुलुकको विकासमा ‘डास्पोरा’को महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै मुलुक बाहिर रहेका नेपालीलाई नागरिकताले मातृभूमिसँग जोडेको बताए । सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नेपाली नागरिकता कागजको टुक्रोमात्र नभई गैरआवासीय नेपालीको मुटुको अंश भएको बताए । गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्ने कानुनी प्रबन्ध गरेकामा सरकार र सम्पूर्ण राजनीतिक दललाई धन्यवाद दिँदै उहाँले नेपाललाई समृद्ध बनाउन गैआवासीय नेपाली लागि रहेन विश्वास दिलाए ।