काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसेटिभ’ बिआरआई परियोजनाको माध्यमबाट नेपालको भौतिक विकासमा सहकार्य गर्ने बताएका छन् ।
बिआरआईको दस वर्षको उपलक्ष्यमा आइतबार नेपाल–चीनमैत्री मञ्चले यहाँ आयोजना ‘बिआरआईको एक दशक: व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक गोष्ठीमा उनले चीन र नेपालबीचको सम्बन्धलाई बलियो बनाउँदै बिआरआईमा सहकार्र्य अघि बढाएर पूर्वाधार विकासमा सहयोग गरिने उल्लेख गरे ।
राजदूत सोङ्गले चीन बिआरआई परियोजनामार्फत नेपालको कनेक्टिभिटी, सडक, रेल, बन्दरगाह, दूरसञ्चार र हवाई उड्डयनआदि क्षेत्रमा सहकार्य गर्न तयार रहेको उल्लेख गरे । उनले हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल विस्तार र विकासमा पनि चीन सहयोग गर्न तत्पर रहेको बताए।
चिनियाँ राष्ट्रपति सी चिनफिङको सन् २०१९ मा नेपालमा भएको ऐतिहासिक भ्रमणका क्रममा बिआरआई परियोजना अघि बढाउन दुई देशबीच समझदारी बनेको उल्लेख गर्दै राजदूत सोङ्गले यसलाई कार्यान्वयन गरेर नेपालले लाभ लिनुपर्ने धारणा राखे । उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउन र आपसी हितका विषयमा साझेदारीका लागी मञ्च उपयोगी हुने बताए ।
चीन नेपालको कृषि उत्पादन बढाउन र कृषि सामग्रीलगायत वस्तु आयात गर्न तयार रहेको छ भन्दै राजदूत सोङ्गले कृषिको आधुनिकीकरण, ऊर्जा र व्यापार प्रवद्र्धनका लागि पनि चीन सरकारको महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरे । उनले औद्योगिक क्षमता अभिवृद्धि गर्दै नेपाली जनताको जीविकोपार्जन बढोत्तरी गर्न पनि चीनको सहयोग रहने बताए ।