काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसदबाट पारित गर्ने विश्वास व्यक्त गरेका छन् ।
बीसौँ निजामती सेवा दिवसका अवसरमा आज काठमाण्डौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बिहीवारमात्र मन्त्रिपरिषद्ले विधेयक संसदमा पठाउने निर्णय गरेको बताउँदै राजनीतिक दलहरूको सहमतिबाट संसद्ले यो विधेयक यथाशक्य छिटो पारित गर्ने बताए ।
उनले देशको सिङ्गो प्रशासन संयन्त्रलाई उत्प्रेरित र उच्च मनोबलयुक्त, निष्पक्ष, पारदर्शी, परिणाममुखी, जवाफदेही, स्वच्छ, सक्षम र प्रविधिमैत्री बनाइ निजामती प्रशासनलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, देशका ठूला राजनीतिक परिवर्तनमा निजामती कर्मचारीहरूको पनि महत्त्वपूर्ण भूमिका रहिआएको छ, देशको विषम परिस्थितिमा राज्य सञ्चालनदेखि विकास निर्माण सेवा प्रवाह र सङ्क्रमणकालीन व्यवस्थापनमा निजामती प्रशासनले पुर्याएको योगदान महत्त्वपूर्ण छ, त्यसका निम्ति तपाईँहरू सबै प्रशंसाको पात्र हुनुहुन्छ ।
उनले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिका एजेन्डामा लैजाने सरकारको अहिलेको मुख्य कार्यभार रहेको बताउँदै राजनीतिक परिवर्तनका निम्ति सङ्घर्ष गरेका नागरिकलाई शासन व्यवस्थामा आएको परिवर्तनको लाभांश दिनुपर्ने जिम्मेवारी र चुनौती दुवै रहेको बताए ।
राजनीतिक परिवर्तनसँगै निजामती प्रशासनलाई रुपान्तरण गर्न विसं २०१३ भदौ २२ मा जारी भएको निजामती सेवा ऐनको भूमिकालाई समेत आत्मसात् गरी अहिलेको राजनीतिक परिवर्तन र संविधानको व्यवस्थाअनुरुप निजामती प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो ।
त्यसका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्णरूपमा प्रतिबद्ध, राजनीतिकरूपमा तटस्थ, पेसागतरूपमा दक्ष र उच्च मनोबलयुक्त सेवामूलक उत्तरीदायी व्यावसायिक निजामती प्रशासनको विकासका लागि नीतिगत, कानुनी, संस्थागत, संरचनागत र व्यावहारिक प्रबन्ध गर्नु पर्दछु, उनले भने ।
भविष्यमा दण्ड र पुरस्कारको व्यवस्थालाई ठोसरूपमा अगाडि बढाइ राष्ट्र र नागरिकको हित र सेवामा समर्पित भइ कार्यक्षेत्रमा खट्ने असल, सक्षम र कर्तव्यनिष्ट कर्मचारीलाई थप उत्प्रेरित गरिने उनको भनाइ छ ।