गोरखा । गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न ढङ्गले सरकारको भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास भइरहेको जिकिर गरेका छन् । सत्ता गठबन्धनकै सांसदले आफ्नो राजीनामा माग्नुलाई पनि उहाँले अभियान रोक्ने प्रयासको रूपमा टिप्पणी गरे ।
गृहजिल्ला गोरखामा प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले गलत प्रवृत्ति भएका पात्रहरू सत्ता गठबन्धनभित्रै पनि हुन सक्ने बताए । उनले सत्तापक्षकै सांसदले आफ्नो राजीनामा मागेको विषयलाई अस्वाभाविक रूपमा नलिएको पनि बताए ।
‘यो समाजमा त्यत्रो ठूलो समस्या छ र त हामी भ्रष्टाचार विरोधी, अनियमितता विरोधी, बेथिति विरोधी अभियान चलाइरहेका छौँ’, उनले भने, ‘भ्रष्टाचारीहरूको नेक्सस ठूलै छ । विभिन्न ढङ्गबाट भ्रष्टाचार विरोधी अभियानलाई रोक्न प्रयास भइरहेको छ तर त्यो प्रयत्नलाई हामी असफल पार्छौँ ।’
सत्ता गठबन्धनबाटै पनि भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास भइरहेको हो भन्ने जिज्ञासामा गृहमन्त्री श्रेष्ठले भने, ‘हुन सक्छ, हाम्रो पार्टी नै शुद्ध हुन्छ भन्ने छैन । नेपाली कांग्रेससहितको हाम्रो गठनबन्धन नै शुद्धै शुद्ध छ भन्न त सकिन्नँ नि ।’ नक्कली भुटानी शरणार्थी, ललिता निवासलगायतका प्रकरणको अनुसन्धान जारी रहेको उनले बताए । ‘अनुसन्धानमा विराम लागेको छैन, जारी छ । तथ्य प्रमाणले जहाँसम्म पुग्नुपर्छ, सरकार पुग्छ । ठूलो होस् कि सानो होस् दोषी छ भने कानुनको दायरामा जो कोही आउँछ’, उनले भने ।
गृहमन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बाहिरिएको विषयलाई सरकारले निकै गम्भीर र संवेदनशीलरूपमा लिएको बताए । विमानस्थलको सुरक्षालाई सरकारले नयाँ ढङ्गले व्यवस्थापन गर्ने तयारी गरिरहेको पनि उनले जानकारी दिए।
‘प्रधानमन्त्रीको उपस्थितिमा एअरपोर्टका सबै निकायहरूसँग छलफल गरेका छौँ, नयाँ ढङ्गले व्यवस्थापन गर्नुपर्छ भन्ने सोच बनाएका छौँ’, उनले भने, ‘प्रारम्भिक कदमको रूपमा हामीले आगमन कक्षमा कहीँ पनि लगेज वा कार्गोको स्क्रिनिङमा प्रहरीको उपस्थिति नै नहुने अहिलेको अवस्था छ, त्यसलाई परिवर्तन गरेर त्यहाँ पनि प्रहरीको उपस्थिति गराउने र अरूको हकमा चाहिँ प्रविधिसहित नयाँ ढङ्गले त्यसको व्यवस्थापन गर्ने गरी तयारी गरिरहेका छौँ ।’
सुन प्रकरणको अनुसन्धान पनि अघि बढिरहेको भन्दै गृहमन्त्री श्रेष्ठले अनुसन्धानका क्रममा जरैसम्म पुग्नका लागि निर्देशन दिएको र त्यसका आधारमा सम्बन्धित सबैलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।