काठमाडौं । जनमत पार्टीले अनुशासन उल्लंघन गरेको आरोपमा ५ जना नेतालाई कारबाही गरेको छ ।
कारबाहीमा पर्नेहरुमा बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, सप्तरीका शंकर खड्का, रुपन्देहीका भोपेन्द्र यादव र कपिलवस्तुका भगवान दास यादव छन् ।
माओवादी केन्द्र त्यागेर जनमत पार्टीमा प्रवेश गरेका शिवचन्द्र कुशवाहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ । मण्डल, खड्का र यादवलाई एक वर्षका लागि पार्टीको सदस्यबाट र भोपेन्द्र यादवलाई केन्द्रीय सचिवालयबाट ३ महिनाको लागि निलम्बन गरिएको जनमत पार्टीका उपाध्यक्ष एवम् अनुशासन समितिका प्रमुख दीपक कुमार साहले जानकारी दिएका छन् ।
अहिले कुशवाहमाथि अनुशासनहिनता प्रदर्शन गर्दै पार्टी र नेतृत्व विरुद्ध लागेको आरोप जनमत पार्टीले लगाएको छ ।
यसैगरी गुलाब मण्डललाई मन्दिर व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको भन्दै र शंकर खड्कालाई विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेको भन्दै कारबाही गरिएको छ ।
भोपेन्द्रलाई केन्द्रीय निर्देशन उल्लंघन गरेको, गर्न लगाएको र गुटबन्दी गरेको आरोप लगाइएको छ ।
यस्तै भगवान दास यादलाई पार्टीका बैठकहरु, कामकारबाहीको क्रममा होहल्ला गर्दै अनुशासनहीनता पटक–पटक प्रदर्शन गरेको भन्दै कारबाही गरिएको जनमत पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।