भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ४ मा सार्वजनिक यातायात सञ्चालन गर्न नयाँ सहमति भएको छ ।
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको रोहबरमा असार २६ गते वडाका जनप्रतिनिधि, जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधि तथा शंखधर नयाँ बाटो थिमी यातायात प्रा.लि.का प्रतिनिधिहरुबीच भएको सहमतिले श्रावण १ गतेदेखि नयाँ ठिमी चोकदेखि, गाम्चा हुँदै तर्खगाल बसस्टपसम्म नियमित यातायात सञ्चालन गर्ने निर्णय भएको छ ।
सहमति अनुसार हरेक दिन विहान ५:३० बजेदेखि साँझ ७:३० बजेसम्म प्रत्येक २० मिनेटको अन्तरमा सवारी साधन सञ्चालन गरिनेछ ।
यसैगरी, सवारी साधनको भाडादर नेपाल सरकारले तोकेको मापदण्ड अनुसार, जेष्ठ नागरिक, अपाङ्ग तथा विद्यार्थीहरुलाई सहुलियत दिने, विद्यालयमा सञ्चालित सवारी साधनलाई क्यूमा समावेश नगरिने, नियमित सवारी साधन सञ्चालन गर्न एकजना टाइम किपर राख्ने समेत सहमति भएको हो ।
यसअघि सार्वजनिक यातायात दैनिक सञ्चालन गरी पाउँ भनी स्थानीय नगेन्द्र न्यौपाने, नातिबाबु खत्री तथा सुशान्त डोटेलले असार १८ गते सूर्यविनायक वडा नं. ४, वडा कार्यालयमा निवेदन दर्ता गराएका थिए ।
विगतमा पनि यस क्षेत्रमा सवारी साधन सञ्चालन गर्न पटक–पटक सहमति भएपनि कार्यान्वयनमा आउन नसक्दा यस क्षेत्रका यात्रीहरुले सास्ती खेप्न बाध्य भएका थिए ।
यसअघि २०७४ साल जेठ ११ गते स्थानीय जनप्रतिनिधिहरुले सपथ खाए लगत्तै वडामा यातायात सञ्चालनका निम्ति भएका सहमति केही समय पनि टिक्न सकेन । फलतः बर्षाैदेखिको सार्वजनिक यातायाताको सास्ती यस क्षेत्रका बासिन्दाहरुले भोग्न बाध्य भएका छन् ।
पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालयकै रोहबरमा भएको भएको सहमतिले केही वडामा सार्वजनिक यातायात नियमित हुनेमा आशा व्यक्त गर्छन् स्थानीय नगेन्द्र न्यौपाने । उनी भन्छन्, ‘बर्षाैदेखि यस वडाका बासिन्दाले भोग्दै आएको समस्या केही हदसम्मभएपनि समाधान हुनेमा आशावादी छौं ।’
पछिल्लो समयमा ठिमी चोकबाट तर्खगाल चोक जोड्ने मूल सडक पूर्ण रुपमा निर्माण हुन नसक्दा यातायात व्यवसायीहरुले समेत नियमित रुपमा बस सञ्चालन गर्न आनाकानी गरेका छन् । यसमा न त स्थानीय जनप्रतिनिधिहरुले अनुगमन गर्न सकेका छन्, न त यातायात व्यवसायीहरुले नै गम्भीरतापूर्वक जिम्मेवारी लिने गरेका छन् । जसका कारण आफ्नो मन लागेको र अनुकूल समयमा छिटफुट रुपमा यातायात सञ्चालन हुँदै आएका छन् ।
बर्षायाम सुरु भएसँगै गाम्चा चोकदेखि तर्खगाल जोड्ने मूल सडकहरु खानेपानीको पाइप बिछ्याउने कार्यका कारण अस्तव्यस्त बनिरहेका बेला पछिल्लो समयमा भएको सहमति कार्यान्वयन भएर वडामा यातायात साधन सञ्चालनमा हुनेमा भने स्थानीय बासिन्दाहरुले आशंका पनि सँगै व्यक्त गरेका छन् ।