काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार १८ गते काठमाण्डौमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई अपव्याख्या गरिएको उहाँको स्वकीय सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले आज बिहीवार जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर राजनीतिक अभिष्ट पूरा गर्न खोजिएको दाबी गर्दै यस विषयमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा पुस्तक विमोचनको प्रसङ्गलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले नियोजितरूपमा संसद् अवरोध गरेको सचिवालयले आरोप लगाएको छ । संसद् अवरोध गर्दा मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक संसदबाट पारित नभई निष्क्रिय भएको तथा त्यसबाट मिटरब्याज पीडितको न्यायप्राप्तिको अपेक्षामा गम्भीर आघात पुगेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यसप्रति हामी गहिरो दुःख व्यक्त गर्दै मिटरब्याज पीडितको न्यायको पक्षमा आवश्यक पहल लिने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’
जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेशलगत्तै प्रधानमन्त्री प्रचण्डसँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको थियो । प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सर रोगबाट सङ्क्रमित भएपछि २०६७÷६८ सालतिर सिंहको दिल्लीमा रहेको घरमा बसेर नै उनको उपचार प्रक्रिया अगाडि बढेको र छोरीको उपचारका क्रममा उहाँको भारतमा आउजाउ हुने गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यही क्रममा सिंहका नातिसँग प्रधानमन्त्री प्रचण्डका छोरा प्रकाश दाहालको सम्बन्ध घनिष्ठ बनेको र उनकोहरूको सम्बन्ध औपचारिकमात्र नभएर भावनात्मक एवम् पारिवारिकसमेत हुँदै गएको बताइएको छ ।
नेपाललाई नयाँ युगतर्फ लैजान प्रचण्डकै राजनीतिक नेतृत्व आवश्यक रहेको बताउने सिंहले अनौपचारिक भेटघाटमा प्रचण्डसँग ‘तपाईँजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदाशयता व्यक्त गर्दै आएको सन्दर्भ पुस्तक लोकार्पणका क्रममा प्रधानमन्त्रीले प्रसङ्गवश उल्लेख गर्नुभएको सचिवालयको भनाइ छ ।
सिंहको दिल्लीमा रहेको आफ्नै घरमा पटक–पटक आउजाउ गर्दा भएका पारिवारिक संवादमा सिंहले व्यक्त गरेका विषयसमेत प्रधानमन्त्रीले कार्यक्रममा स्मरण गर्नुभएको प्रेस सल्लाहकार आचार्यको भनाइ छ । ‘प्रधानमन्त्री प्रचण्डले सिंहसँगको सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बङ्ग्याएर अतिशयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैँमा निरर्थक र दुःखद छ’, प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने ।
सम्मानित संसदबाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सधैँ सङ्घीय संसद्प्रति जवाफदेही रहेको उल्लेख गर्दै उनले संसद् प्रष्टीकरणको मौकासमेत नदिई उहाँको भनाइको आशय विपरीत एकपक्षीय ढङ्गले प्रचारप्रसार गरिनु दुर्भाग्यपूर्ण रहेको बताए ।
दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेका हमलाविरुद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट ‘केही हुँदैन’ भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा ‘गरे हुने रहेछ’ भन्ने आशलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र नागरिकका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको स्पष्ट भएको उनको भनाइ छ ।