काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेसँगै यतिखेर सामाजिक सञ्जाल तातेको छ । राष्ट्रपतिले भारतमा भएको आफ्नो उपचार खर्च राज्यबाट नलिने घोषणा यसअघि गरेता पनि मन्त्रिपरिषद्ले निर्णय गरी उनको उपचार खर्च सरकारले व्यहोर्ने भएपछि सर्वत्र आलोचना सुरु भएको छ ।
यसअघि २०८० बैशाख १९ गते राष्ट्रपति कार्यालयबाट जारी पे्रस नोटमा भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारका क्रममा भएको सम्पूर्ण खर्च राष्ट्रपति स्वयंमले व्यहोर्ने कुरा उल्लेख गरिएको थियो । राष्ट्रप्रतिका प्रेस संयोजक खिला कार्कीले हस्ताक्षर गरेको उक्त प्रेस नोटमा भारतमा राष्ट्रपतिको उपचारका क्रममा भएको खर्च सम्माननीय राष्ट्रपति ज्यू स्वयंले व्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ भनी उल्लेख गरिएको थियो ।
तर एकाएक पराराष्ट्र मन्त्रालयमा मन्त्रिपरिषद्ले गरेको निर्णय १५ गते प्राप्त भएको र त्यसअनुसार रकम निकासाशका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको पत्र मंगलबार सार्वजनिक भएपछि सर्वत्र यसको निन्दा भएको छ ।
स्वदेशमै हुन सक्ने सामान्य उपचारका लागि विदेश गएको भनी आलोचित पौडेलका तर्फबाट कार्यालयले वक्तव्य जारी गर्दै आलोचना मत्थर गरेको थियो । अहिले भने सरकारले नै उक्त रकम तिर्ने निर्णय भएको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको चर्काे आलोचन सुरु भएको छ । राष्ट्रको ढुकुटी सबैले रित्ताएकै बेला राष्ट्रपतिले स्वाङ पारेर केही लिँदिन भन्नु गलत भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बताउँछन् ।
यसैबीच, राष्ट्रपतिको भारतमा भएको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय सार्वजनिक भएपनि नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपतिको सहयोगार्थ रु १ संकलन अभियान सुरु गरेको छ । उनीहरुले राष्ट्रपतिलाई कटाक्ष गर्दै देशव्यापी यो अभियान चलाएको अनेरास्ववियूले जनाएको छ । यस्तै वरिष्ठ पत्रकार जीवराम भण्डारीले आफ्नो ट्वीटर एकाण्टमा राष्ट्रपतिको उपचार खर्चको बिषयमा कटाक्ष गर्दै राष्ट्रपति पौडेलले विरामीको ओखती खर्च आफूले व्यहोर्ने सन्देश केही अघि जारी गरे । अहिले फेरि मागेछन् । अब ठाने देशमा आमूल परिवर्तन भएकै हो नयाँ नेपाल भएकै हो भनी लेखेका छन् ।
असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले भारतमा राष्ट्रपति पौडेलको उपचारको क्रममा खर्च भएको बिल भुक्तानी गर्ने निर्णय गरेको थियो । राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ बेहोर्ने निर्णय भएको छ ।
राष्ट्रपतिको सचिवालय तथा परिवारका सदस्यको समेत दैनिक भ्रमण भत्ता कटाएर हवाइ भाडा र उपचार खर्चको मात्रै बिल स्वीकृत भएको बताइएको छ । काठमाडौंबाट दिल्लीमा एयर एम्बुलेन्समा राष्ट्रपतिलाई लैजाँदा सबैभन्दा धेरै ३३ लाख रुपैयाँ खर्च भएको बताइएको छ । यसैगरी दिल्लीको उपचारमा करिब ७ लाख रुपैयाँ र फर्किदाको करिब ६ लाख खर्च भएको देखिएको छ ।
क्यापिटल समाचार डेक्स, काठमाडौं ।