काठमाडौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ ।
बुधबार संसदको बैठक सुरु भए लगत्तै समय लिएर बोल्दै एमाले सांसद रघुजी पन्तले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा आपत्ति भएको बताए । उनले नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त नहुने तर्क गर्दै प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपर्ने बताउनुभयो । पन्तले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने समेत बताए ।
असार १८ गतेको कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली धाएको प्रधानमन्त्री प्रचण्डले सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिएका थिए ।
त्यही अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले सदनमा अवरोध गरेका हुन् । प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले संसद अवरोध गरेका हुन् । विपक्षीको अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।
यसैबीच, नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर राष्ट्रियसभा बैठक पनि अवरुद्ध गरेको छ ।
प्रधानमन्त्रीले केही दिनअघि भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दी दिएको अभिव्यक्ति आफूहरुलाई स्वीकार्य नभएको नभएको भन्दै एमालेले राजीनामा माग गरेको छ ।
बुधबार दिउँसो साढे २ बजे बसेको राष्ट्रियसभा बैठकमा एमाले नेता देवेन्द्र दाहालले समय लिएर बोल्दै दिल्लीको इशारामा बनेको प्रधानमन्त्री आफूहरुलाई स्वीकार्य नभएको बताए ।