काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको झण्डा फेर्नुपर्ने आवाज उठेको छ ।
तीन दिनदेखि जारी जसपाको विधान अधिवेशनका बोल्ने अधिकांश नेताहरुले वास्तु शास्त्रअनुसार नमिलेको कारण अर्को झण्डा बनाउनुपर्ने सुझाव आएको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले बताए ।
सोमवार १० वटा समूहमा विधान मस्यौदाको बारेमा छलफल भएको थियो । ती समूहबाट एक एकजनाले आआफ्नो समूहमा उठेको विषयमा आज ब्रिफिङ गरिरहेका छन् ।
हालसम्म छ वटा समूहका छ जना नेताले आफ्नो धारणा राखिसकेका छन् । यसमध्ये अधिकांशले झण्डा फेर्नुपर्ने कुरामा जोड दिइएको बताइएको छ ।
जसपाकी नेतृ रेखा यादव, अर्का नेता रमेश राय, प्रीति रमन, भगतराम थारु लगायतका नेताले झण्डा फेर्नु पर्नेमा जोड दिएका छन् ।
उता नेता खगेन्द्र माखिमले भने फरका कुरा राखेका छन् । उनले वास्तु शास्त्र र राजनीति फरक फरक कुरा भएको, अहिलेको झण्डा नै राम्रो छ यसलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।
जसपाको झण्डा रातो र हरियो रंगभित्र एउटा तारा राखिएको छ । वास्तु शास्त्रअनुसार रातो र हरियो मिसाउँदा कालो हुन्छ । कालोलाई शुभ मानिदैन । त्यही भएर यो झण्डको रंग फेरेर रातो र पहेँलो बनाउन सुझाव दिइएको छ ।
त्यस्तै, समूहका नेताहरुले आफ्नो धारणा राख्ने क्रममा पार्टीमा उमेर हद राख्न नहुने धारणा राखेका छन् ।